२०८१ मङ्सिर २४ गते सोमवार

संचारबिहिन गंगटे गाउँमा घर ,फोन गर्न डाँडाको भर



जीतसागर जी.एम.
गंगटे, ०७ असार
सर्मीला कुँवरका श्रीमान गणेश कुँवर विदेशमा छन् । विदेशमा रहेका श्रीमानसंग उनले हप्ता दिनमा एक पटक टेलिफोनमा कुराकानी गर्छिन् । तर उनलाई डाँडामा पुगरे पनि टेलिफोन सम्वाद गर्न सहज छैन् । फोन गर्नकै लागि २÷४ घण्टाको समय नै छुट्याउनुपर्ने बाध्यता छ उनलाई । गाउँमा टेलिफोन सेवा भरपर्दो नहुादा बबई गाउँपालिका वडा नम्बर १ गंगटे निवासी कमलाले श्रीमानसंग अहिलेसम्म ढुक्कले कुरा गर्न नपाएको बताईन् । ‘घरमा टावर आउँदैन्, फोन गर्नका लागि डाँडामा जानुपर्छ ।’ उनले भनिन्–‘डाँडामा पनि टावरले राम्रोसंग काम नगर्दा ढुक्कले कुराकानी गर्न सकिदैन् ।’

केहि समय अघि आफैले श्रमदान गरेर गाउँ नजिकैको डाँडामा टेलिफोनको टावर बनेपनि भरपर्दो सेवा नहुँदा फोन गर्नका लागि डाँडामा पुग्नुपर्ने बाध्यता रहेको उनले बताईन् । ‘डाँडामा पनि पानी परेको बेला र हिउँदको समयमा टावर आउँदैन् ।’ उनले भनिन्–‘घाम लागेको बेलामात्रै टावर आउँछ, तैपनि ढुक्कले कुराकानी गर्न सकिँदैन् ।’ कमला सारु मगर कक्षा ११ मा सल्यानको श्रीनगरमा पढ्छिन् । कोरोना महामारीका कारण गतवर्ष उनले विद्यालयमा भौतिक उपस्थितिमा कक्षा लिन सक्ने अवस्था थिएन् । गाउँमा टेलिफोन सेवा भरपर्दो नहँुदा उनले अनलाईन कक्षा पनि लिन पाइनन् । टु जि सेवा भरपर्दो हुन नसकिरहेको अवस्थामा फोर जि सेवा झनै् टाढैको कुरा भएको उनले दुखेसो पोखिन् । ‘फोन गर्न त मुस्कील छ, गाउँमा ।’ उनले भनिन्–‘टु जि सेवा पाउन नसकिरहेको अवस्थामा फोर जि सेवा झन् कहाँबाट पाउन सकिन्थ्यो होला र ?’

कोरोना महामारीको समयमा फोन सेवा सहज नहुँदा धेरै पढाई छुटेको उनले बताईन् । ‘कोरोना महामारीमा भर्चुअल माध्यमबाट पढ्ने विकल्प अरु थिएन् तर म सहित गंगटे गाउँका सबै साथीहरु टेलिफोन सेवा भरपर्दो नभएका कारण पढ्नबाट बन्चित भएका छौँ ।’ उनले भनिन् –‘घरमै बसेर ढुक्कले फोन गर्ने समय कहिले आउला र ?’ दाङ सुगम जिल्लाका रुपमा चिनिएपनि केहि वस्ती अझै सुविधाको अभावमा पिल्सीएका छन् । बबई गाउँपालिकाको गंगटे पनि दाङको कर्णाली भनेर चिन्निछ । गंगटेमा अहिलेसम्म कुनै पनि विकास भरपर्दो छैन् । गाउँमा पछिल्लो समय सडक र विद्युत जसोतसो पुगेपनि संचारको सुविधा अझै पुग्न सकेको छैन् । गंगटेमा कर्णाली प्रदेशको कालिमाटीमा रहेको नेपाल टेलिकमको टावरले छिटफुटरुपमा टेलिफोन सेवा पुगेपनि भरपर्दो नहुँदा संचार सुविधाबाट नागरिकहरु बन्चित भएका छन् ।

संचार र प्रविधिको विकाससंगै विश्व दुनिया खुम्चिदै गएको छ । क्षणभरमै विश्वका गतिविधि प्राप्त गर्न सकिने प्रविधिको विकास भइसकेको अवस्थामा गंगटेका नागरिकले भने ढुक्कले मोबाईल फोन प्रयोग गर्न पाएका छैनन् । गंगटेका नागरिकलाई फोन गर्नका लागि अहिले पनि डाँडामा जानुपर्ने बाध्यता छ । कालिमाटीमा रहेको टावरले छिटफुटरुपमा कहिले काँही डाँडामा गएपछि फोन गर्न मिलेपनि ढुक्कले फोन गर्न अवस्था नभएको अर्का स्थानीय जंगबहादुर कुवंरले बताए । ‘पहिले त डाँडामा पुगेपनि टेलिफोन गर्न सम्भव थिएन् ।’ उनले भने–‘अहिले गाउँ नजिकै टावर बनेपछि डाँडामा पुगेर फोन गर्न सकिन्छ, तर त्यो पनि भरपर्दो छैन् ।’ गंगटेमा करिब १ हजार २ सय घर धुरी बसोवास गर्छन् । तर संचारको सुविधाबाट सबै नागरिक बन्चित छन् ।

भौगोलिक हिसावले विकट वस्ती गंगटेको गाउँलाई संचारसंग जोड्नका लागि भएका प्रयासले पूर्णरुपमा सार्थकता पाउन सकेको छैन् । डाँडामा पुगेर फोन गर्नलाई पनि टावरमा सोलार सिस्टमले काम गरेको छैन् । तर केहि दिन अघि विद्युत विस्तार भएसंगै नागरिकले अब ढुक्कले फोन सेवा प्रयोग गर्न पाउने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । ‘गगटेको नजिकै बनेको टेलिफोन टावरमा सोलार सिस्टम छ, त्यसैले पनि भरपर्दो सेवा छैन् ।’ उनले भने–‘विद्युत गाउँमा पुगेपछि अब केहि वर्षभित्र टावरमा पनि विद्युत पुग्ने छ र टेलिफोन सेवा नियमित हुने आशा राख्न सकिन्छ ।’ फोनको सुविधा भरपर्दो नहुँदा आफन्तका सुखदुख बुझन गंगटेका नागरिकलाई सास्ती छ । घरदेखि टाढा रहेका आफन्तसंग कुरा गर्नका लागि डाँडामा जानुपर्ने र त्यो पनि भरपर्दो नहुँदा नागरिकले सास्तीमात्रै पाएका छन् । गंगटेजस्तै संचारसंग नजोडिएका दाङमा धेरै वस्ती छन् ।

 

 

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार