२०८१ माघ १० गते बिहिवार

दाङमा चालुवर्षमा नयाँ उद्योग स्थापनामा कमि



दाङ, २० असार ।
दाङमा चालुवर्षमा नयाँ उद्योग स्थापनामा कमि आएको छ । बैंकले पर्याप्त लगानी नगर्दा नयाँ उद्योग स्थापनामा कमि आएको हो । घरेलु तथा साना उद्योग कार्यालय घोराहीका अनुसार चालुवर्षको जेठ ११ गतेसम्म जिल्लामा १ हजार ७८५ उद्योग दर्ता भएका छन् ।

बितेको आर्थिक वर्षमा जिल्लामा २ हजार १ सय ८४ नयाँ उद्योग दर्ता भएका थिए । जिल्लामा चालुवर्षमा सबैभन्दा बढी कृषि तथा बनजन्य उद्योग दर्ता भएका छन् ।

चालुवर्षको जेठ ११ गतेसम्म जिल्लामा कृषि तथा बनजन्य उद्योग १ हजार २२४ दर्ता भएका छन् । यस्तै २ सय ३० सेवामूलक उद्योग, १७० उत्पादमूलक उद्योग, १६० पर्यटन उद्योग र एक वटा खनिजजन्य उद्योग दर्ता भएको छ ।

चालुवर्षमा जिल्लामा नयाँ दर्ता भएका उद्योगमा ३ अर्ब ४० करोड ९८ लाख १० हजार ४ सय ५ लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर वलीले चालुवर्षमा बैंकले लगानी गर्न नसक्दा उद्योग दर्तामा पनि कमि आएको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार