दाङ, ५ साउन ।
दाङको टरिगाउँ विमानस्थलमा ६८ वर्षपछि इन्धन डिपो संचालनमा आउने भएको छ । विमानस्थलमा अहिले डिपो स्थापनाका लागि भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
३० हजार लिटर हवाई इन्धन (तेल) अट्ने क्षमताको इन्धन डिपो स्थापनाको काम अन्तिम चरणमा पुगेको हो । गतवर्ष साउनमा सम्झौता भई निर्माण शुरु भएको काम असारको अन्तिममा निर्माण पुरा भएको हो ।
डिपोमा बन्डेड ट्यांक, भवन निर्माण लगायतका आवश्यक पूर्वाधार निर्माणको काम लगभग सकिएको निर्माण पक्षले जानकारी गराएको नेपाल आयल निगमको इन्जिनियर विभागका निर्देशक सुरज शाहले बताउनुभयो ।
उहाँका अनुसार सम्झौता अवधिमै डिपो स्थापनाको काम सम्पन्न भएपनि प्राविधिक जाँचको काम अझै बाँकी रहेको छ । निर्माण पक्षले निमाणर्को काम करिब सबै सकेको भएपनि प्राविधिकरुपमा जाँच नहुँदा सम्म संचालनमा नआउने उहाँले बताउनुभयो ।
‘भौतिक संरचना निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ, प्राविधिकरुपमा जाँच गर्न बाँकी छ ।’ उहाँले भन्नुभयो-‘निर्माण व्यवसायीले लगभग सबै काम सकेपनि हामीहरुले एक पटक प्राविधिक पक्ष जाँच गरेपछि डिपो संचालनमा ल्याउन सकिन्छ ।’
इन्धन डिपोको निर्माणको जिम्मा न्यू ड्राइभन एमसी फाल्गुनान्दले लिएको थियो । करिब डेढ करोड लागतमा डिपोको निर्माण गरेको हो ।
टरिगाउँ विमानस्थलमा इन्धन डिपो नहुँदा विमानले इन्धन आफै ढुवानी गर्नुपर्ने अवस्था छ । दुईतिर उडानका लागि इन्धन ढुवानी गर्दा जहाँजले सिट क्षमता अनुसारको यात्रु बोक्न पाएका छैनन् ।
जहाँजले सिट क्षमता अनुसारको पुरै यात्रु बोक्न नपाएपछि हवाई भाडासमेत महंगो पर्ने गरेको छ । टरिगाउँ विमानस्थलमा अहिले १९ सिटे ट्विनअटर जहाजमात्रै संचालनमा छ ।
तर यात्रु करिब १२ जनामात्रै जहाँले बोक्ने गरेको टरिगाउँ विमानस्थल प्रमुख गणेश खरेलले बताउनुभयो ।
बन्डेड ट्यांक र रिफिलर ट्यांकर गरेर करिब ४० हजार लिटर इन्धन स्टक राख्न सकिने छ । टरिगाउँ विमानस्थलमा अहिले सातामा पाँच दिन जहाँज संचालन हुने गरेको छ । शुक्रबार र शनिबारबाहेक सातामा पाँच दिन विमान संचालन हुने गरेपनि नियमित उडान भने हुन सकेको छैन् ।
विस २०११ सालमा टरिगाउँ विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो विमानस्थल विभिन्न समयमा बन्द हुँदै संचालन हुने गरेको छ ।
विमानस्थलमा ७ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग मात्रै कालोपत्रे भएकाले ट्विनअटर विमानमात्रै अवतरण गर्न सक्छन् । विमानस्थलमा कालोपत्रे नहुँदै त्योभन्दा ठूला जहाज आउँथे । तर पछिल्लो समय ठुला जहाँज संचालन हुन सकेको छैन् ।