२०८१ फाल्गुन २ गते शुक्रवार

दाङमा ४ हजार बढी आमाले गराए, गर्भपतन



दाङ, ८ साउन ।
दाङमा दुई वर्षको अवधिमा ४ हजार बढीले गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७७/२०७८ देखि बितेको आर्थिक वर्षसम्ममा जिल्लामा ४ हजार २ सय ४२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा २ हजार ५३ जना र आर्थिक वर्ष २०७८/२०७९ मा १ हजार ६ सय ६५ जनाले गर्भपतन गराएका छन् ।

गर्भपतन गराउनेमा अधिकांश २० वर्षदेखि माथिका रहेका छन् । दुई वर्षको अवधिमा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट २० वर्ष माथिका ३ हजार ७ सय १८ जनाले गर्भपतन गराएका हुन् ।

गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका पनि रहेका छन् । दुई वर्षको अवधिमा ५ सय २४ जना २० वर्ष मुनिका किशोरीले गर्भपतन गराएका छन् । कानुनले २० वर्षमुनिको विवाहलाई मान्यता नदिएपनि अस्पतालमा गर्भपतन सेवा लिनेमा २० वर्ष मुनिका किशोरी पनि देखिएको छ ।

स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा २ सय ९३ जना र बितेको आर्थिक वर्ष २०७८/२०७९ मा २ सय ३१ जना २० वर्ष मुनिकाले गर्भपतन सेवा लिएका छन् ।

जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिएको तथ्यांकमात्रै राख्ने गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार निजि अस्पतालमा भएका गर्भपतनको तथ्याङक स्वास्थ्य कार्यालयमा राख्ने गरिएको छैन् ।

कम उमेरमा गर्भपतन गराउदा विभिन्न समस्या आउने भएपनि गर्भपतन गराउनेहरुको संङख्यामा कमि आउन नसकेको तथ्यांकले देखाएको छ । सानै उमेरमा गर्भपतन गराउँदा धेरै रगत बग्ने , पाठेघरमा संक्रमण हुने र पछि गएर बाझोपनाको समस्या देखापर्ने पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सिनीयर कन्सलटेन्ट तथा गाइनोलोजिस्ट डाक्टर विनोद सिंहले बताउनुभयो । उहाँले सुचिकृत संस्थाबाट मात्रै गर्भपतन गराउन आग्रह गर्नुभएको छ ।

गर्भपतन प्रजनन स्वास्थ्य अधिकारको एक महत्वपूणर् पक्ष हो । यसले नेपालमा कानुनी मान्यता पनि प्राप्त गरेको छ तर अधिकार प्राप्त गर्ने नाममा गर्भपतन संस्कारको रुपमा विकास हुँदै गएको छ । गर्भपतन कम गर्नको लागि विभिन्न कार्यक्रमहरु चलाउनुपर्ने महिला अधिकारकर्मी लक्ष्मी आचार्यले बताउनुभयोे ।

अनिच्छित गर्भको कारणले भईरहेको गर्भपतनको दरमा कमी ल्याउन उच्च गुणस्तरिय परिवार नियोजन सेवाका साथै परामर्श सेवामा पहँुच अभिवृद्धि गर्ने र पर्याप्त साधनहरुको उपलब्धताको सुनिश्चितता गर्नुपर्ने डाक्टरको सुझाव छ ।।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार