दाङ, १३ साउन ।
चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको छ ।
आज सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने तयारी गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।
गएको असार २२ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले११ सदस्यीय छानबिन विशेष समिति गठनको घोषणा गर्नुभएको थियो । त्यही समितिको म्याद हिजो सकिएपछि आज प्रतिवेदन बुझाउने तयारी भएको हो ।
समितिले पूर्वअर्थमन्त्री जनार्धन शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो ।
समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएपनि तोकिएको मितिमा काम नसकेपछिसात दिन समय थप गरेको थियो ।संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको थियो ।