दाङ, १५ साउन ।
दाङमा विभिन्न विपद् परेर गत आर्थिक वर्षमा ८ जनाको मृत्यु भएको छ । आगलागी, हावाहुरी, चट्याङ , बाढी, सर्पदंश लगायतका विभिन्न प्राकृतिक विपद्का ७५ घटनामा ८ जनाको मृत्यु भएको हो ।
जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङका अनुसार ८ जना मध्य आगलागीमा परेर ५ जना, सर्पदंशका कारण २ जना र चट्याङका कारण १ जनाको मृत्यु भएको छ । विपद्का विभिन्न घटनाहरूका ५ जना घाइते भएका थिए । जसमा चट्याङ लागेर ३ जना, सर्पदंश र करेन्ट लागेर १/१ जना घाइते भएको केन्द्रले जनाएको छ । एक वर्षको अवधिमा भएका ७५ घट्नामा २०३ परिवार प्रभावित भएका केन्द्रले जनाएको छ ।
हरेक वर्ष औसतमा १४० घर बिपद्का कारण प्रभावित हुने गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार आगलागीका कारण ९८ वटा घर र हावाहुरी, भारी वर्षा, चटयाङ लगायत कारणबाट ४० घर हरेक वर्ष औसतमा प्रभावित हुने गरेका छन् ।
बितेको १० वर्षमा सबै भन्दा बढि बाढी कारण घरहरूमा प्रभावित भएको छ । २०६९ सालदेखि २०७९ असारसम्म १ हजार ४०१ वटा घर प्रभावित भएको केन्द्रका सूचना अधिकारी विनायक पौडेलले जानकारी दिनुभयो । उहाका अनुसार आगलागीबाट ९ सय ८४ वटा घर र हावाहुरी, भारी वर्षा, चटयाङ लगायत कारणबाट ४०४ गरी २ हजार ७८९ घर प्रभावित भएका छन् ।
आर्थिक वर्ष २०६९/७० मा बाढीबाट ८ वटा र आगलागीबाट १०४, आव २०७०/७१ म बाढीका कारण ८ वटा, आगलागीबाट १७३, आव २०७१/७२ मा बाढीका कारण ५९३ वटा, आगलागीबाट १८० घर प्रभावित भएको केन्द्रले दिएको तथ्यांकमा उल्लेख छ ।
यस्तै आव २०७२/ ७३ मा बाढीबाट ४८, आगलागीबाट ११८, आव २०७३/ ७४ मा बाढीका कारण २८ वटा, आगलागीबाट ५ वटा, आव २०७४/ ७५ मा बाढीका कारण ६४१ वटा, आगलागीबाट ७८ वटा, आव २०७५/७६ मा बाढीबाट १ वटा, आगलागीबाट ६९ वटा घरहरूमा क्षति भएको केन्द्रले जनाएको छ ।
यस्तै आव २०७६/७७ मा बाढीका कारण १० वटा, आगलागीबाट ६९ वटा, आव २०७७/७८ मा बाढीबाट ४ वटा, आगलागीबाट ५ वटा घटनाहरू भएका थिए । यस्तै गत आर्थिक वर्षमा मात्रै विपद्मा परेर ८ जनाको मृत्यु भएको छ । २ सय बढी घर परिवार प्रभावित भएका छन् ।