२०८० फाल्गुन १३ गते आइतवार

लुम्बिनी प्रदेशमा दैनिक चार सवारी दुर्घटनामा एकको मृत्यु



दाङ, २१ साउन ।
लुम्बिनी प्रदेशमा दैनिक चार वटा सवारी दुर्घटना हुने गरेको देखिएको छ । पछिल्लो तीन वर्षमा भएको दुर्घटनाको संख्यालाई हेर्दा प्रदेशमा दैनिक चार वटा सवारी दुर्घटनामा १ जनाको मृत्यु हुने गरेको छ ।

प्रदेशका १२ वटै जिल्लामा तीन वर्षको अवधिमा ३ हजार ४ सय ९६ सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा एक हजार ५ सय ६१ जनाको मृत्यु भएको छ ।

यस्तै तीन वर्षको अवधिमा दुर्घटनामा परी प्रदेशभर ३ हजार २ सय ६० जना गम्भीर घाइते र एक हजार ८ सय ३६ जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २ सय ४४ छ भने पुरुष एक हजार १ सय ६८ रहेको छ । यस्तै, १ सय ३ बालक र ४६ बालिकाको दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु दर बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा १ हजार १ सय २२ सवारी दुर्घटनामा ४ सय ८४ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा कुल १ हजार २ सय १२ सवारी दुर्घटनामा ५ सय २७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सवारी दुर्घटनाबाट ५ सय ५१ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति रुपन्देहीमा हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षमा रुपन्देहीमा सवारी दुर्घटनाबाट ३ सय ५९ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा सवारी दुर्घटनामा कम भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी मोहन खाँणले बताउनुभयो । उहाँका अनुसार रुपन्देही, बाँके र दाङ जिल्लामा सवारी दुर्घटना बढी देखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार