दाङ, २३ साउन ।
लुम्बिनी प्रदेश सरकारको बिरामीलाई स्वास्थ्य उपचारमा छुटको योजना कार्यान्वयनमा आए पछि राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि छुट योजना कार्यान्वयनमा आएपछि बिरामीको चाप बढेको हो ।
राप्ती प्रादेशिक अस्पतालमा साउन १ गतेदेखि १५ गतेसम्म ५ हजार १ सय ८१ जनाले उपचार सेवा लिएका छन् । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका प्रादेशिक अस्पतालमा नाम दर्ता, जनरल बेड र रगत निःशुल्क गराएको छ ।
प्रदेश सरकारको छुटको योजना तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पनि साउन १ गतेदेखि कार्यान्वयन भएपछि बिरामी बढेको अस्पतालका सूचना अधिकारी भूषण सुवेदीले बताउनुभयो ।
बितेको आर्थिक वर्षमा राप्ती प्रादेशिक अस्पतालमा ७४ हजार ९ सय १९ जनाले सेवा लिएका छन् । जुन औषतमा दैनिक २ सय ५ जनाले उपचार सेवा लिएको देखिएको छ । प्रादेशिक अस्पतालमा चालु वर्षको सुरूवातको तुलनामा गत आर्थिक वर्षमा दैनिक १५० बढी बिरामीले सेवा लिएको देखिएको छ ।
अस्पतालमा ओपिडीसहित जनरल बेड र रगतमा निःशुल्क छ । रगतमा अस्पतालले यसअघि नै निःशुल्क गर्दै आएको थियो । प्रदेश सरकारले पनि निःशुल्क योजना ल्याएपछि सेवा लिने बिरामी बढ्दै गएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहले बताउनुभयो । राप्ती प्रादेशिक अस्पतालमा दाङसहित सल्यान, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, प्यूठान–लगायतका ठाउँबाट उपचार गर्न आउने गरेका छन् ।
साविक राप्ती अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल नाम परिवर्तन भएपनि सेवामा गुणस्तर ल्याउन नसकेको गुनासो बढिरहेको समयमा प्रदेश सरकारको छुट योजनाले बिरामीलाई केही भएपनि राहत थपेको छ । छुट योजनाले टाढा–टाढाबाट आउने बिरामीलाई बढी सहजता भएको मेसु सिंहले बताउनुभयो ।