२०८१ मङ्सिर २३ गते आइतवार

दाङ भ्याली यातायातको प्रथम वार्षिक उत्सव : अटो व्यवसाय व्यवस्थित बनाउनुपर्नेमा जोड



तुलसीपुर, २८ साउन ।
मूल्य वृद्धि अनुसार अटोको भाडादर समायोजन नभएको अटो व्यवसायीहरुले गुनासो गरेका छन् । पेट्रोलको मूल्य प्रतिलिटर १०६ हुँदा निर्धारण गरिएको अटोको भाडादर अहिले १९० रुपैँया प्रतिलिटर हुँदा पनि पुरानै भडादर रहेको उनिहरुको गुनासो छ । स्थानीय सरकारले भाडादर समायोजनमा चासो नदिदा आफुहरु समस्यामा परेको उनिहरुको भनाई छ ।

दाङ भ्याली यातायात प्रलिको प्रथम वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा
तुलसीपुरमा भएको कार्यक्रममा सहभागी अटो व्यवसायीले अटोको भाडादर, अटोका लागि वैकल्पीक सडकको व्यवस्था, पार्किङस्थलको व्यवस्था गर्न स्थानीय सरकारसंग माग गरेका छन् ।

यस्तै उनीहरुले सवारी चालक अनुमति पत्रको लागि सहज व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रालिका अध्यक्ष वेद प्रकाश ओलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मेयर खड्काले पछिल्लो समय अटो रिक्सा सडक यातायातमा नभइ नहुने सवारीसाधन भएको बताउनु भएको छ । अटो सजिलोसँग सानो सडकमा पनि गुडाउन सकिने भएकाले सुख, दुःखमा साथ दिने गतिलो साधन भएकोले यसको सञ्चालनमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो ।

अटो व्यवसायलाई नेपाल सरकारको नीति र नियम कानुनले सहयोग नगरेको, अटो व्यवसायको वर्गीकरण हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।

दाङमा मात्र ६ हजार अटो रिक्सा सञ्चालनमा रहेको तथ्यांक रहेको कार्यालय प्रमुख महेन्द्र मराले जानकारी दिनुभयो । तर, पनि सरकारले अटो व्यवसायको समस्या नसुनेको गुनासो गर्नु भयो । यस्तै जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियारले अटो चालकहरुले अनिवार्य अनुमति पत्र लिएर मात्र चलाउन सुझाव दिनुभयो ।

उहाँले सीट क्षमता लाई ध्यान दिनुपर्ने, मदिरा सेवन गरेर सवारी नचलाउने, पार्किंग ब्यबस्थित गर्ने,भाडा को एकरूपता हुनुपर्ने, वैज्ञानिक भाडादर सूची कायम गर्ने, रात्रिकालीन समयमा बढी भाडा नलिन सुझाव दिनु भएको छ ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति शुशिल बस्नेतले अटो हरेक नागरिकका लागि एम्बुलेन्सजस्तै रहेको बताउनुभयो । उहाँले अटो व्यवसायीलाई यात्रु मैत्रि बनाउन सुझाव दिनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघ का अध्यक्ष रामप्रसाद चालिसेले अटो ब्यबसायीको हक हितको पक्षमा संस्था बलियो हुनुपर्ने बताउनुभयो । साधारणसभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक अटो ब्यबसायी तोजबहादुर डाँगी, ट्राफिक नियम पालना गरी अटो चलाउने अर्थात एक वर्षभरी दुर्घटना नगराउने विम बहादुर बाठा मगर, मानबहादुर नेपाली, विष्णुप्रसाद भुसाल, शितल चौधरी, राजेश चौधरी, टोपलाल भण्डारी, प्रमित चौधरी नगद सहित सम्मान गरिएको छ ।

त्यस्तै संस्थामा उत्कृष्ट काम गर्ने विष्णु कुमारी खड्का र रमिता चलाउनेलाई पनि नगदसहित सम्मान गरिएको गरिएको छ । कार्यक्रमको सञ्चालन पत्रकार आशिष केसी र रिजु लामिछानेले गर्नु भएको हो ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार