२०८१ जेष्ठ ९ गते बुधवार

धादिङका एक पुरुषसंगै दाङको एक महिला बुटवलको एक होटलमा मृत फेला



दाङ, ३१ साउन ।
दाङको महिला र धादिङका पुरुष बुटवलको एक होटलमा मृत फेला परेका छन् । रुपन्देहीको बुटवलस्थित स्याङजा कारीकोटे होटलमा बास बसेका धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जना बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर महिलाका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार