२०८१ जेष्ठ ३१ गते बिहिवार

प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा



दाङ, ६ भदौ ।
प्रदेशको स्थायी राजधानी कार्यान्वयनका लागि लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षअघि वाईबी ईन्फ्रास्टक्चर एण्ड सप्लायर्सले निर्माण ठेक्का लिएको यो काम प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा केही समय ढिला भएको हो ।

निर्माणको काम अहिलेसम्म करिब ९५ प्रतिशत काम सकिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो । आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यतिबेलासम्म काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने पोख्रेलले बताउनुभयो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा आउने भएपछि प्रदेश सरकारले पाँच करोड २१ लाखको लागतमा भवन निर्माण गरिरहेको हो । प्रदेश सभा भवन राप्ती प्राविधिक शिक्षालय परिसरभित्र बनिरहेको छ ।

प्रदेश सभा भवन निर्माणको काम सुरु भएको एक वर्ष नाघिसकेको छ । तीन महिनाभित्र प्रिफ्याव मोडेलमा भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । बीचमा डिजाइन फेरेर बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो।

बजेट रोकिएपछि पुरानै डिजाइनमा बनाउने सम्झौता अनुसारको काम अघि बढेको बताइएको छ । यसअघि प्रदेश सरकारको बैठक स्थायी राजधानीमा राख्ने तयारी गरिएको थियो । तर, प्रदेश सभा भवन निर्माण कार्य सम्पन्न नहुँदा राख्न सकिएको थिएन । अब भदौ महिनापछि प्रदेश सभा भवनमा बैठक राख्न सकिने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार