२०८१ कार्तिक १७ गते शनिवार

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलले आजसम्ममात्रै आयोगमा निवेदन दिन पाउने



दाङ, १२ भदौ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निवदेन दिने समय आज सकिँदैछ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजसम्म मात्रै निवेदन दिन पाउने छन् ।

आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न आज साँझ ५ बजेसम्मको समय तोकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ।

आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए। दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन्।

दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ।एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग-अलग रूपमा निवेदन दिन पाउनेछन्।

दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ। आयोगको निर्वाचन कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार