दाङ, १५ भदौ ।
दाङका समुदायस्तरमै डेंगु फैलिन थालेको छ । घोराही-१४ अटो भिलेजमा २० जनाभन्दा बढीलाई डेंगु संक्रमण पुष्टि भएको छ । तुलसीपुर, तुलसीपुर लगायतका क्षेत्रमा हप्तामा २/४ संक्रमित भेटिन थालेका छन् भने घोराहीमा त्यसको दर अझ धेरै पाइएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुका विरामी बढ्दै गएका छन् । दैनिक ४/५ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार साउन २६ गतेदेखि भदौ ११ गते दिउँसोसम्म ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
हिजो दिउँसो मात्रै दुईजनामा डेंगु संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको तथ्यांक हेर्दा जिल्लामा सरदर दैनिक दुई भन्दा बढीलाई डेंगु संक्रमण भइरहेको छ ।
प्रतिष्ठानका ल्याव प्रमुख दामोदर शर्माले ३/४ महिनामा फाटफुट १/२ वटा केश मात्रै आइरहेको अवस्थामा अहिले भने दैनिकजसो भेटिएको बताउनुभयो । उहाँका अनुसार प्रादेशिक अस्पतालमा हप्तामा १/२ जनामा संक्रमण भेटिएको छ ।
त्यस्तै लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले डेंगु हुने सिजन भएकाले फाटफुट अवस्थामा संक्रमण भेटिएको बताउनुभयो । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले अटो भिलेजको संक्रमणले चिन्ता बढाएको बताउनुभयो । उहाँले आजदेखि उपमहानगरपालिकाको १९ वटै वटामा विशेष अभियान नै सञ्चालन गर्ने बताउनुभयो ।
उपमहानगरले हरेक हप्ता टोल सफाइ, टायरमा पानी जम्न नदिने, पानी जम्न सक्ने भाँडाको ब्यवस्थापन, झुल प्रयोग गर्ने, लामखुट्टेबाट बच्न झुलको प्रयोग गर्ने, ज्वरो आएका बिरामीे तुरुन्त अस्पतालको सम्पर्कमा आउने, जथाभावी औषधि प्रयोग नगर्ने विषयमा सचेतीकरण थालिसकेको छ ।
यस्तै ठूला अस्पतालमा ल्याव परीक्षण गरिए पनि ग्रामीण क्षेत्रमा डेंगु परीक्षणका लागि चाहिने किटको अभाव देखिएको छ ।