२०८१ माघ १२ गते शनिवार

राष्ट्रिय परिचयपत्र : तुलसीपुरमा पनि वडाबाटै दिने तयारी



तुलसीपुर, २१ भदौ ।
दाङको तुलसीपुरमा अब वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले तुलसीपुरका १९ वटै वडा कार्यालय वा वडाको पायक पर्ने केन्द्रबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरेको हो ।

जिल्ला प्रशासन वा इलाका प्रशासनबाटमात्रै काम हुँदा सेवाग्राहीको चाप बढेपछि नागरिकको सहजताका लागि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचय पत्र वितरण गर्न लागेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका केहि वडाबाट यो काम शुरुवात भइसकेको छ । तुलसीपुरमा पनि बुधबार भोलिदेखि नै ५ र ६ वडाबाट राष्ट्रिय परिचय पत्रका लागि आवश्यक दर्ता शुरुवात गरिने उहाँले बताउनुभयो ।

ईलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा पुगेर परिचयपत्रका लागि नाम दर्ता गर्दा नागरिकलाई सास्ती हुने भएकाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा घोराही र तुलसीपुरपछि क्रमश दाङका दशवटै पालिकाबाट सेवा दिन लागिएको हो ।

राष्ट्रिय परिचयपत्रको काम वडाबाट सुरुवात गर्न सोमबार जनप्रतिनिधि र वडाका कर्मचारीलाई राखेर अभिमुखिकरण समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहआयोजनामा भएको कार्यक्रम भएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आइटी प्राविधिक दाङ प्रमुख विपिन आचार्यले वडा सचिव र जनप्रतिनिधिलाई राष्ट्रिय परिचयपत्रको लागि आवश्यक जनशक्ति व्यवस्थापन, भौतिक सामग्रि, परिचयपत्रको आवश्यकता लगायतका विषयमा अभिमुखिकरण गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार