२०८१ असार ४ गते मङ्गलवार

दाङसहित १३ जिल्लामा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान संचालन



दाङ, २२ भदौ ।
दाङसहित १३ जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको काम वडाबाटै संचालन भएको छ । जिल्ला प्रशासन वा इलाका प्रशासनबाटमात्रै काम हुँदा सेवाग्राहीको चाप बढेपछि नागरिकको सहजताका लागि वडाबाटै विवरण दर्ताको काम शुरु गरिएको हो ।

लुम्बिनी प्रदेशको दाङ र कपिलवस्तुमा यो अभियान जारी रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आइटी प्राविधिक दाङ प्रमुख विपिन आचार्यले जानकारी दिनुभयो ।

यस्तै देशका ३२ जिल्लामा अभियान सम्पन्न भइसकेको छ । लुम्बिनीको रुपन्देही, गुल्मी र पाल्पामा यो अभियान सम्पन्न भएको र बाँकी ७ जिल्लामा अभियान अहिलेसम्म संचालन नभएको उहाँले बताउनुभयो । दाङका लागि ६७ जना अपरेटर कर्मचारी रहेका छन् । तर अहिले ५७ जनामात्रै काममा खटिएको र बाँकी आउने क्रममा रहेको उहाँले बताउनुभयो ।

यसैबिच दाङको तुलसीपुरमा आजदेखि वडाबाटै राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता हुने भएको छ । सेवाग्राहीको चापलाई मध्यनजर गरी तुलसीपुरमा पनि वडाबाटै विवरण दर्ता शुरु गर्न लागिएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नगरप्रमुख टिकाराम खड्काले आफ्नो विवरण दर्ता गरेर अभियानको औपचारिक शुरुवात गर्न लागिएको हो । विभागले तुलसीपुरका १९ वटै वडा कार्यालय वा वडाको पायक पर्ने केन्द्रबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरेको हो ।

घोराही उपमहानगरपालिकाका सबै वडाबाट यो काम शुरुवात भइसकेको छ । घोराही र तुलसीपुरपछि क्रमश दाङका दशवटै पालिकाका एक सय वटै वडाबाट विवरण दर्ताको सेवा दिन लागिएको हो ।

प्रमुख आचार्यका अनुसार एउटा वडामा दुई जना अपरेटर, एक जना रुजु अधिकारी र सहयोगी गरी ४ देखि ६ जनासम्म कर्मचारी खटिएका छन् । वडामा दैनिक ४० जना बढीको विवरण दर्ता गर्नुपर्ने र दुई हप्ताभित्र एउटा वडाका नागरिकको विवरण दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार