दाङ, २ असोज ।
दाङसहित देशका अधिकांश ठाउँमा आज हिजोको जस्तो अति ठूलो वर्षा हुने सम्भावना कम रहेको छ । आज प्रदेश–१ र वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
उहाँका अनुसार तर, अति ठूलो वर्षा नभए पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा जोखिम धेरै छ । लुम्बिनी प्रदेशका केहि ठाउँमा अहिले पानी परिरहेको छ ।
यस्तै, आज राति पनि प्रदेश–१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि पनि फेरि ठूलो वर्षाको सम्भावना छ ।
वर्षातले बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिनमा र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा पनि सडक र मौसमको अवस्थाबारे जानकारी लिन सुझाव छ ।