दाङ, ४ असोज ।
समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।
प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ ।
आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।
यसैबिच दलहरूको सूचीमा प्रधानमन्त्रीपत्नी, पूर्वसभामुख, पूर्वगृहमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्मका नेता पनि छन् । दलहरूले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि राष्ट्रिय राजनीतिमा हैसियत बनाएका व्यक्तिलाई विभिन्न ‘कोटा’ बाट समानुपातिक सूचीमा समेटेका छन् ।
समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । असोज १६ सम्म सूची परिमार्जनको समय रहेकाले यी नामावली अन्तिम भने होइनन् ।
प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि बढीमा २ सय २० सहित ३ सय ३० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको आयोगले जनाएको छ । दलहरूले बन्दसूची संशोधन हुन सक्ने जनाएका छन् ।
संसद्को ठूलो दल एमालेले केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताबाहेक नयाँलाई प्राथमिकतामा राखेर बन्दसूची बुझाएको छ ।
निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, सुनीता बराल, उमा कोइरालालगायत छन् । पन्त दसबुँदे पक्षधर र थापा माओवादीबाट एमाले प्रवेश गरेका हुन् । बराल अनेरास्ववियुको अध्यक्ष हुन् ।
यसबाहेक उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । राजनीतिमा सक्रिय नरहेकी थापालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि ०७८ जेठ २७ मा सञ्चारमन्त्री बनाएका थिए ।
तर, सर्वोच्च अदालतले असार ८ मा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार संविधानअनुकूल नभएको भन्दै बदर गरिदिएपछि थापासहितका मन्त्री पदमुक्त भएका थिए ।
एमालेले युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटीलगायतलाई पनि प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।
एमालेले केन्द्रीय कार्यालयका पूर्वसचिव ईश्वरी रिजाल विश्वकर्मालाई पनि समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । उनी केन्द्रीय सदस्य हुन् ।
एमालेका केन्द्रीय सदस्य एवं निर्वाचन विभाग उपप्रमुख नीरज आचार्यले अधिकांश नयाँ अनुहार र त्यसमा पनि युवालाई अवसर दिइएको बताउनुभयो ।
त्यसैगरी कांग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।
०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष चुनावकै लागि तयारी गर्दै आएकी थिइन् । उनको नाम यसअघि लडेकै निर्वाचन क्षेत्र र अन्य ठाउँबाट समेत सिफारिस भएको थियो ।
प्रधानमन्त्री देउवाको शासकीय काममा हस्तक्षेप गरेर विवादास्पद निर्णय गराउने गरेको भन्दै पार्टीभित्र र बाहिरबाट आलोचना बढिरहेका बेला उनी प्रत्यक्ष चुनावमा जान हच्केकी छन् ।
राणा लड्ने तयारी गरेको कैलाली–५ बाटै कांग्रेस नेता पुष्कर ओझाले उम्मेदवारी दिने तयारी गरिरहेको र उनलाई मनाउन बालुवाटारले नसकेपछि आरजु पछि हटेकी हुन् ।
विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुरलगायत कांग्रेसका केन्द्रीय नेताहरू पनि समानुपातिक सूचीमा बसेका छन् । यी नेताहरू पूर्वमन्त्रीसमेत हुन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियारले अपराह्न आयोगमा प्रारम्भिक सूची बुझाउनुभएको थियो । तर, पार्टीभित्रै भागबन्डाको विवाद नमिलेकाले कांग्रेसले वास्तविक सूची मध्यरातिसम्म पनि बुझाउन सकेको छैन ।
नेता शेखर कोइराला समूहले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ ४० प्रतिशतको हाराहारीमा आफ्नो पक्षलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएपछि विवाद बढेको थियो ।
उम्मेदवार चयन र प्राथमिकतामा राख्ने विषयमा कांग्रेसभित्र मध्यरातिसम्म सहमति जुटेको थिएन ।
माओवादी केन्द्रले पटक–पटक लाभको पद लिएका पूर्वसभामुख एवं उपाध्यक्ष कृष्णबहादुर महरालाई पुनः अवसर दिएको छ ।
दाङ–२ बाट प्रत्यक्षतर्फ सिफारिस भएका महराको नाम सोमबार अन्तिम समयमा समानुपातिकमा राखिएको माओवादी स्रोतले जनाएको छ । महरा आफैंले भने प्रत्यक्षतर्फबाट धेरै ठाउँबाट माग भएकाले आफू राष्ट्रिय व्यक्तित्वका लागि समानुपातिकमा बसेको बताएका छन् ।
समानुपातिकबाट सांसद चुनिए संसद्मा उनको उपस्थिति छैटौं पटक हुनेछ । उनी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र हुन् । महरा २०४८ मा रोल्पा–२ बाट सांसद निर्वाचित भएका थिए । सशस्त्र युद्धमा सामेल भएका उनी शान्ति प्रक्रियालगत्तै २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्मा प्रवेश गरेका थिए ।
०६४ मा दाङ–३ बाट संविधानसभा सदस्य निर्वाचित भए भने ०७० मा रोल्पा–१ बाट संविधानसभा सदस्य बने । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट निर्वाचित भएका थिए ।
संसद् सचिवालयकी महिला कर्मचारीसँगको सम्बन्ध विवादमा मुछिएर राजीनामा दिनुअघि उनी ०७४ फागुन २६ देखि ०७६ असोज १४ सम्म सभामुख थिए ।
माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा परशुराम तामाङ र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादीका पाँच नेता पनि परेका छन् ।
गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपाने भट्टराईको सूचीबाट अटाएका छन् । त्यस्तै माओवादीले पूर्वमन्त्री हकिकुल्ला खाँ, महिला नेतृ रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, कर्मचारी महासंघका अध्यक्ष मोहनमान स्वाँर, अजम्बर राई काङबाङ, रणेन्द्र बराइलीलगायतलाई समानुपातिक उम्मेदवार बनाएको स्रोतले जनाएको छ ।
माओवादी उपमहासचिव वर्षमान पुनले भूगोल, युवा र नयाँ अनुहारलाई सन्तुलित ढंगले समानुपातिक उम्मेदवार बनाएको बताउनुभयो ।
संसद्को चौथो ठूलो दल एकीकृत समाजवादीले पनि समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएको छ । समाजवादीले उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, केन्द्रीय लेखा आयोगका अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दिलकुमारी पन्तलगायतलाई प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार बनाएको छ ।
हमाल पूर्वराजदूत हुन् । समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका, यसअघि दुई पटक सांसद भएका नेताबाहेकलाई समानुपातिक उम्मेदवार बनाएको बताउनुभयो ।