दाङ, ३० असोज ।
‘वाङमय शताब्दी पुरुष’ सत्यमोशन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा उपचारको क्रममा जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जानकारी दिनुभयो ।
मुटु लगायतका विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित जोशीलाई यही असोज ७ गते किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
जाँचका क्रममा जोशीलाई डेङ्गीको सङ्क्रमण पनि पुष्टि भएको थियो ।
नेपालको संस्कृति, सङ्गीत र साहित्यको क्षेत्रमा जोशीको योगदान अतुलनीय रहेको भन्दै सरकारे उहाँलाई ‘वाङमय शताब्दी पुरुष’ सम्मान दिएको थियो ।
बाबु शङ्करराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा उहाँको जन्म भएको थियो ।
लोक संस्कृतिका विज्ञको रुपमा चिनिने जोशीलाई पहिलो पटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि तेस्रोपटक २०२८ सालमा जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।