तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने प्रावि हलवार र कालिका मन्दीरको खुल्ला चौरमा फनपार्क बनाउने तयारी गरिएको समाचार प्रकाशित भएपछि तुलसीपुर–७ जितपुर निवासी स्थानीय उपेन्द्र पौडेलले तुलसीपुर–४ र ७ का वडा अध्यक्षलाई खुल्ला पत्र लेख्नुभएको छ ।
तुलसीपुर–४ र ७ सिमानमा पर्ने प्रावि हलवार र कालिका मन्दीरको खुल्ला चौरमा फन पार्क बनाउने तयारी गरिएको संजालमा मैले देख्न पाएँ ।
तर यो निर्णयले हामी दुखी गरिब नागरिकलाई खासै हौसला दिएको छैन् । किनकी कुनै पनि योजना बनाउँदा प्राथमिकताका हिसावले ठिक छ कि छैन् , नागरिकलाई यसले कतिको फाइदा पु¥याउँछ, हाम्रो समाजका लागि योजना कतिको उचित छ आदि कुरामा ख्याल गर्नुपर्छ ।
यसले जनप्रतिनिधि नागरिकको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीमा कतिको गम्भिर छन् भन्ने बुझाउँछ ।
कुनै पनि आयोजना, विकास नराम्रो त हुँदैन् तर सामान्य आधारभूत आवश्यकता पुरा नभएर अरु विकासको परिकल्पना पुरा गर्न सकिदैन् ।
हामीजस्तो देशमा अहिले पनि धेरै नागरिकले सामान्य आधारभूत आवश्यकता पुरा गर्न सकेका छैनन् । हाम्रो गाउँघरको धरातल हेर्ने हो भने अहिले नै फनपार्कको आवश्यकता हो जस्तो लाग्दैन् । चरम गरिबी छ । गास, बास र कपासको कुनै ग्यारेन्टी छैन् ।
औषधि नपाएर मानिसहरु उपचारको अभावमा तड्पेर मर्नुपर्ने अवस्था छ । शिक्षा सहजरुपमा पाउने अवस्था छ । रोजगारी कतै छैन् । यस्तो जटिल परिस्थितिमा त्यो पार्कको कल्पना गर्न सकिदैन् । त्यसैले यस्तो निर्णय तत्काल खारेज गर्न अनुरोध गर्दछु ।
सुझाव
पार्क बनाउनुको साटो स्वरोजगार ट्रेनिङ सेन्टर खोलौँ । त्यस ठाउँमा अस्पतालको निर्माण गरौँ ।
कृषिजन्य सामग्रि भण्डारणका लागि चिस्यान केन्द्र खोलौँ ।
क्याम्पस स्थापना गरौँ ।
मानव सेवा आश्रम बनाऔँ ।
फनपार्क हामी वडाबासी र नेपालकै सन्दर्भमा प्राथमिकतमा पर्दैन् । त्यसैले यो निर्णय फिर्ता लिन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।