एजेन्सी-
भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या एक सय ५० जना पुगेको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयौँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म एक सय ५० वटा शव भेटिएको बताउनुभएको छ । उहाँका अनुसार घटनास्थलमा उद्धारको काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । मर्मतसम्भारका लागि ६ महिनासम्म बन्द गरिएको यो पुल गएको शुक्रवारदेखि मात्रै आवतजावतका लागि खोलिएको थियो ।
गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले मृतकका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि मृतकका परवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा भएको खबरमा उल्लेख छ ।