दाङ, ८ मंसिर । दाङमा सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उमेदवारको जित भएको छ । नेकपा एमालेका उमेदवारलाई पछि पार्दै गठबन्धनका उमेदवारले जित हासिल गरेका हुन् । तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा जित हासिल गर्ने ९ जना उमेदवार गठबन्धकै हुन् ।
गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा दाङमा सोचेजस्तो नतिजा ल्याउन नसकेको गठबन्धन दलले मंसिर चारको आम निर्वाचनमा एमालेका उमेदवारलाई पराजित गराउन सफल भएको हो । प्रनिनिधि सभा दाङ- १ मा नेकपा एकिकृत समाजवादीका मेटमणी चौधरीले जित हासिल गर्नुभएको हो ।
उहाँले नेकपा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मतान्तरले पछि पारेर जित हासिल गरेका गर्नुभएको हो । निर्वाचित मेटमणीले २६ हजार ५६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी शान्ताले २१ ह्जार ४७९ मत प्राप्त गर्नुभएको छ ।
दुवै जना २०७४ सालको निर्वाचनमा सहकर्मी (एउटै पाटी) नेकपा एमालेमा आवद्ध रहनुभएको थियो । पाटी विभाजन भएपछि पूर्व सहकर्मीबिचमै पहिलो प्रतिष्पर्धा भएको हो । गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनलाई हेर्दा एकिकृत समाजवादीको मत कमजोर हो तर तीन पाटी मिलेका कारण यसपटक चुनाव जित्न मेटमणीलाई सहज भएको हो ।
यस्तै प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर २ मा पनि गठबन्धनको पक्षमा नतिजा हात परेको छ । क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । नर्वाचित शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेलाई झिनो मतान्तरले पछि पार्नुभएको हो ।
शर्मा र पोखरेल बिचको मतान्तर १९६ मात्रै छ । पराजित पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नुभएको छ । निर्वाचित शर्मालाई गठबन्धन दल नेपाली कांग्रेस , राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादीको साथ थियो भने पोखरेल एक्लै प्रतिष्पर्धामा रहनुभएको थियो ।
१ लाख ३३ हजार ७४८ मतदाता रहेको दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ४४६ मत खसेको थियो । शर्माले शुरुवाती अग्रतालाई कामय राख्दै जित हासिल गर्नुभएको हो । शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उहाँ २०७० र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको थियो ।
२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका शर्माले कानुन निर्माणलगायत संसदीय गतिविधिमा सक्षम, सक्रिय र सफल सांसदको रुपमा पहिचान बनेको छ ।
यस्तै प्रतिनिधि सभा दाङ- ३ मा गठबन्धनका उमेदवारले जित हासिल गरेका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फटबाट गठबन्धनका साझा उमेदवार दिपक गीरीले जित हासिल गर्नुभएको हो । गिरीले नेकपा एमालेका कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पछि पारेर जित हासिल गर्नुभएको छ ।
निर्वाचित गिरीले ३६ हजार ८४२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका वलीले २९ हजार ३२ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ९० हजार ३४३ मत खसेको थियो । गिरीलाई कांग्रेससहित तीन पाटीको साथ थियो भने वली एमालेबाट एक्लै प्रतिष्पर्धामा हुुनुहुन्थ्यो ।
निर्वाचित गिरीले आम मतदातालाई धन्यवाद ज्ञापन गर्दै दाङको समृद्धिका लागि निरन्तर लाग्ने दावि गर्नुभएको छ । यस्तै प्रदेश सभाको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उमेदवार निर्वाचित भएका छन् । प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसका ४ र माओवादी केन्द्रका २ जनाले जित हासिल गरेका हुन् । दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा २ , क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ , क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् भने क्षेत्र नम्बर १ को १ र ३ को २ मा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।
कुन दलबाट को-को निर्वाचित भए ?
दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका गंगाराम भट्टराईलाई १ हजार ७८० मतले पछि पारेर जित हासिल गर्नुभएको छ ।
यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । २८ वर्षिय खड्काले नेकपा एमालेका कुलबहादुर केसीलाई ३ हजार ७२ मतले पछिपार्दै पहिलोपटक संसदको बाटो तय गर्नुभएको हो । निर्वाचित खड्काले १६ हजार २२२ मत प्राप्त गर्नुभएको छ भने पराजित एमालेका केसीले १३ हजार १७० मत प्राप्त गर्नुभएको छ ।
यस्तै दाङ क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित हुनुभएको छ । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र १ हजार ४ सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिनुभयो । खनाल २०७० मा दाङ-३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुएको थियो भने २०७४ मा खनाल यस क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित हुनुभएको थियो ।
यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका प्रचण्ड बिक्रम न्यौपाने निर्वाचित भएका छन् । उहाँले नेकपा एमालेका गिरीराज केसीलाई ७७० मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । न्यौपानले १७ हजार ४ सय ६९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिष्पर्धी १६ हजार ६९९ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीलाई प्रदेश सांसदमा दोस्रो सफलता मिलेको छ । गठबन्धनका साझा उमेदवार चौधरीले दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
चौधरीले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पछि पार्दै प्रदेश सांसदमा जित हासिल गर्नुभएको हो । चौधरीले १९ हजार ८५० मत प्राप्त गर्नुभएको छ भने एमालेका केन्द्रिय सदस्य पाण्डेले १४ हजार ४५० मत प्राप्त गर्नुभएको छ ।
चौधरी यसअघि पनि २०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित हुनुभएको हो । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री हुनुहुन्छ भने पराजित पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ ।
यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गरेर प्रदेश संसदको यात्रा सुनिश्चित गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ । मास्की र बस्नेतबिचको मतान्तर २ हजार १ सय ६१ रहेको छ । यस क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।