२०८१ असोज १९ गते शनिवार

स्थानीय सरकार र तुलसीपुर उवासंघले सहमति कार्यान्वयन गरेनन् : प्रतिमा शर्मा



दाङ, १४ मंसिर ।
पाँच वर्ष अघि राप्ती बहिरा संघले तुलसीपुरमा महोत्सवको आयोजना गर्‍यो । अशक्त तथा बहिरा बालबालिकाको छात्राबास निर्माण गर्ने पवित्र उद्देश्यका साथ २०७४ सालमा आयोजना गरिएको महोत्सव अन्तिम समयमा आएर रोकिएपछि अझैपनि भवन निर्माणको काम अन्यौलमा छ ।

तत्कालीन समयमा तुलसीपुर उद्योग वाणिज्य संघको बिरोधका कारण महोत्सव स्थगित गरिएको हो । महोत्सव संचालनका लागि आवश्यक तयारी गर्दा राप्ती बहिरा संघको करिब १७ लाख बढी खर्च भइसकेको थियो ।

महोत्सवको तयारीमा भएका १७ लाख खर्च र छात्रबासको भवन निर्माणका लागि थप ९ लाख सहयोग पाउने आश्वासन पाएपछि राप्ती बहिरा संघले महोत्सव स्थगित गरेको थियो ।

तत्कालीन समयमा नगरप्रमुख घनश्याम पाण्डेको समन्वयमा तुलसीपुर उपमहानगर र तुलसीपुर उद्योग वाणिज्य संघले आवश्यक ९ लाख सहयोग गर्ने प्रतिवद्धता जारी गरेका थिए । तर पाँच वर्ष बित्नै लाग्दा पनि राप्ती बहिरा संघले न महोत्सवको तयारीमा भएको खर्च पाउन सक्यो न त थप ९ लाख सहयोग नै प्राप्त गर्‍यो ।

बहिरा विद्यार्थीको आवास निर्माणको लागि तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघबाट पाउने ९ लाख अहिलेसम्म प्राप्त गर्न नसकेको राप्ती बहिरा संघका कार्यकारी निर्देशक प्रतिमा शर्माले बताइन् । ‘हामीले भवन निर्माणको सहयोगार्थ महोत्सव संचालन गर्न लागेका थियौँ , तर महोत्सव संचालनका लागि अवरोध भयो ।’ उनले भनिन्-‘महोत्सव रोक्दा पाएको आश्वासन पनि अहिलेसम्म पुरा नहुँदा साह्रै दुखित छौँ ।’

तुलसीपुर उपमहानगरको वेवास्ता र तुलसीपुर उद्योग वाणिज्य संघको दादागिरीका कारण राप्ती बहिरा संघको भवन निर्माणको काम अहिलेसम्म अधुरो छ । अशक्त विद्यार्थीको आवासका लागि सरकारले नै चासो देखाउनुपर्ने ठाउँमा राप्ती बहिरा संघले देखाएको चासोमा पनि स्थानीय सरकारले बेमत्लव गरेको शर्माको गुनासो छ । ‘बहिरा अशक्त विद्यार्थी बस्ने आफ्नै भवन छैन् ।’ उनले भनिन्-‘भवन आफ्नै नहुँदा धेरै समस्या भएको छ ।’ संघले अहिले ६२ जना बहिरा (अशक्त) विद्यार्थीलाई भाडाको घरमा राखिरहेको छ ।

भवन आफ्नै नहुँदा संघले अहिले तुलसीपुर-८ अस्वारामा मासिक ३० हजारसम्म घरभाडामा खर्च गरेर विद्यार्थीको पालन पोषण गरिरहेको छ । ‘भवन आफ्नै बनेको भए धेरै सहज हुने थियो तर यस कुरामा सरकार पनि गम्भिर भएन ।’ उनले भनिन्-‘सरकारले गर्नुपर्ने दायित्व हामीले निर्वाह गर्न खोज्दा पनि हामीलाई रोक्ने काम गरियो ।’

भवनको अभावमा टाढा-टाढाबाट पढ्नका लागि आउने अशक्त बालबालिकालाई फर्काउन बाध्य भएको उनले बताईन् । ‘धेरै अशक्त बालबालिका छात्राबासमा बस्नका लागि आउने कोशिस गरेपनि हामीले भवनको अभावमा राख्न सकेका छैनौँ ।’

पाँच वर्ष अघि उपमहानगर र तुलसीपुर उद्योग वाणिज्य संघ संग भएका सहमती कार्यान्वयन नहुनु दुखद भएको उनले बताईन् । अशक्त बालबालिकाको लागि अक्षय कोष स्थापना गर्ने, आर्थिक वर्ष २०७४/२०७४ मै बहिरा बालबालिकाको लागि छात्राबासको शिलान्यास गर्ने, ९ लाख भवन निर्माणार्थ सहयोग गर्ने लगायतका सहमती अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको हो ।

त्यसबेलामा मेला लगाउन पाएको भए अहिलेसम्म भवन निर्माण भइसक्ने कार्यकारी निर्देशक शर्माले बताईन् । ‘त्यो समयमा ज्यानमार्ने धम्कि आएकै कारण महोत्सवलाई अघि बढाउन नसकिएको हो ।’ उनले भनिन्-‘सायद महोत्सव लगाउन पाएको भए अहिलेसम्म भवन निर्माण भइसक्थ्यो ।’

नगरप्रमुख टिकाराम खड्कालाई सहमती कार्यान्वयनका लागि आग्रह गर्दा फाइल नै हराएको बताउने गरेको उनको भनाई छ । नगरप्रमुख खड्काले राप्ती बहिरा संघसंग भएको सहमती कार्यान्वयन नभएको स्विकार गरेका छन् । ‘सरकार आफैले गर्ने काम हो, तर पनि हामीले गर्न पर्ने बाँकी कुरामा त्यो पनि प्राथमिकतामा छ ।’ उनले भने-‘अहिले नै कार्यान्वयन हुन्छ भन्न सकिएन् ।’

मेला, महोत्सवमा तुलसीपुर उद्योग वाणिज्य संघको सिन्डिकेट अझै पनि कायमै छ । पाँच वर्षअघि राप्ती बहिरा संघलाई महोत्सव संचालनमा रोक्न बाध्य बनाएको संघले अहिले युथ्स अफ तुलसीपुरले लगाउन लागेको महोत्सवको पनि बिरोध गरिरहेको छ । गतवर्ष पनि चेम्बर अफ कमर्श तुलसीपुरले महोत्सव लगाउँदा बिरोध जनाएको संघले यसवर्ष पनि बिरोधका कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार