२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा तोरी उत्पादन घट्दै



दाङ, १५ मंसिर ।
दाङमा पछिल्लो समय तोरी उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेपनि उत्पादन भने घट्दै गएको हो ।

पहिले दाङको तोरी अन्य जिल्लामा बिक्री हुनेगरेको थियो तर पछिल्लो समय दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ । स्थानीयले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयबिनको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउनुभयो ।

केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभरि खान पुग्ने गरे पनि पछिल्लो समय घरको उत्पादनले नपुग्ने गरेपछि किन्न थालेको उहाको भनाई छ ।

किसानले खेतीमा मनतन लगाएर गर्न छोडेसँगै जिल्लामा तोरी उत्पादन घट्दै गएको तेल मिल सञ्चालक मोहन वलीले बताउनुभयो । तोरी उत्पादन घटेसँगै तेल मिलसमेत विस्तारै विस्थापित हुने क्रम चलिरहेको उहाँको भनाई छ । वलीका अनुसार हाल प्रतिलिटर तोरीको तेलको मूल्य करिब चार सयसम्म पुगेको छ ।

स्थानीयले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । जिल्लामा करिब १७ हजार हेक्टरमा तोरी खेती हुने गरेको छ ।

तोरी उत्पादन घट्नुमा जग्गा प्लटिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको कृषि प्राविधिक माधव केसी बताउनभयो । दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रिनु र असन्तुलित रासायनिक मलको प्रयोगले तोरीको उत्पादन बर्सेनि घट्दै गएको कृषि प्राविधिक केसीको भनाइ छ ।

तोरीको उत्पादन बढाउनका लागि केही गाउँपालिकामा तोरी जोन कार्यक्रम लागूभएसँगै स्थानीय निकायअन्तर्गत कृषि शाखा तथा अन्य सम्बन्धित कार्यालयले किसानलाई तोरी उत्पादन बढाउन उन्नत बिउ वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार