२०८१ असोज २७ गते आइतवार

राप्ती प्रादेशिक अस्पतालमा फोहोर व्यवस्थापन केन्द्रको स्थापना



तुलसीपुर, १७ मंसिर ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापना भएपछि अव्यवस्थितरुपमा फालिने फोहरको व्यवस्थापन हुने भएको छ ।

यसअघि अव्यवस्थित रूपमा फोहोर फाल्ने गरिएकोले अस्पतालले फालेका फोहोर किसानको खेतमा जाने समस्या थियो । अब अस्पतालजन्य फोहोर त्यही केन्द्रमा पठाउने र संक्रमणयुक्त फोहोरलाई संक्रमणमुक्त बनाउनेछ । गल्ने, नगल्ने फोहोरलाई छुट्टै राखिनेछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. ओम अर्यालका अनुसार संक्रमणमुक्त बनाइएका ती फोहोरलाई उपमहानगरपालिकाको जिम्मा लगाइनेछ । अस्पतालमा फोहोरलाई संक्रमणमुक्त गर्नका लागि २ वटा मशिन जडान गरिएको छ । ती मशिनबाट फोहोरलाई संक्रमणमुक्त गरेपछि छुट्टै राखिन्छ र उपमहनगरपालिकालाई जिम्मा लगाइन्छ ।

यूएनडीपी र चाइन एडले केन्द्र स्थापना गरेका हुन् । २ करोड ५० लाख लागतमा केन्द्र स्थापना गरिएको हो । घरमा हुने फोहोर र अस्पतालमा हुने फोहोरमा निक्कै फरक हुने भन्दै यसलाई व्यवस्थापन गर्न आफूहरूले भवन निर्माण गरेको यूएनडीपीका आयोजना प्रबन्धक राजेश मिश्रले बताउनुभयो ।

अस्पताल सफा नभएमा झनै रोग फैलिन सक्ने भन्दै दाङसहित विभिन्न ६ अस्पतालमा यस्ता सरसफाइ केन्द्र स्थापना गरिएको हो । १ वर्षदेखि निर्माण थालिएको कार्य भर्खरै सम्पन्न भएर अस्पताललाई हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार