२०८० मङ्सिर २२ गते शुक्रवार

दाङमा एक वडा कार्यालय र स्वास्थ्यचौकीसहित विभिन्न घरमा चोरी



दाङ, १८ पुस ।
दाङमा एक वडा कार्यालय र स्वास्थ्यचौकीसहित विभिन्न घरमा चोरी भएको छ । चोरले बंगलाचुली गाउँपालिका वडानम्वर ५ को वडा कार्यालय, लोहारपानी स्वास्थ्यचौकी, मनिषा होटेल र ठग बहादुर खत्रीको घर फोडेको छ ।

चोरले सबैभन्दा धेरै मनिषा होटेलबाट चोरेको छ । होटलका संचालक भुपेन्द्र बहादुर पुनका अनुसार ६३ हजार नगद र करिव ढाईतोला विभिन्न गरगहनाहरु चोरेको छ । चोरले नगद सहित दुईवटा माईली तिल्लहरी, एउटा बाला, एउटा चन्द्रमा, दुईवटा औँठी, एउटा घाँटीमा लगाउने चोकर, एक जोली टप लगेको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालयबाट चोरले ५ वटा दराज फोडेको छ । दराजमा रहेको ८ हजार ५ सय १ रुपैँया लगेको वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष घर्तीका अनुसार चोरले लोहारपानी स्वास्थ्यचौकीको पाँचवटा दराज फोडेको छ । भने बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मुर्कुटी निवासी ठग बहादुर खत्रीको घरको ताला तोडेको छ । सबै ठाउँमा एकैचोटी चोरीभएको हुन सक्ने अनुमान छ । राति करिव १२ बजेत देखि डेढ बजेको विचमा चोरीभएको हुन सक्ने बंगलाचुली गाउँपालिकाका प्रेस सल्लाहकार जीवन नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार