दाङ, ६ माघ ।
तुलसीपुर उपमहानगरपालिकाको गौरवको योजना अन्तर्गत निर्माण शुरु गरिएको बहुउद्देश्यीय कम्प्लेक्स भवनको नक्सा परिवर्तन गरिएको छ । नगर विकास कोषको ऋण अनुदानमा तुलसीपुरमा कम्प्लेक्स निर्माण गर्न थालिएको हो ।
निर्माण कम्पनीले डिएमसी प्रविधिबाट काम गर्दा वरपरका घरमा समेत गम्भीर समस्या उत्पन्न हुने बताएपछि कम्प्लेक्सको नक्सा परिवर्तन गरिएको छ । कम्प्लेक्स निर्माणका लागि समानान्तर/डायनामिक/नारायणम जेभीले जिम्मा लिएको छ ।
निर्माण कम्पनीले ०७८ चैतमा कम्प्लेक्स निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । कम्प्लेक्स निर्माणका लागि यसअघिको नक्सामा डिएमसी प्रविधिमा गर्ने उल्लेख थियो । जुन प्रविधिबाट काम गर्दा भाइब्रेसन उत्पन्न हुने र वरपरका घरमा गम्भीर समस्या आउने भएपछि नक्सा नै परिवर्तन गरिएको हो ।
जुन प्रविधिले वरपरका घरमा पर्ने असरको क्षतिपूर्ति निर्माण कम्पनीले दिने भएपछि नक्सा परिवर्तन गर्नुपरेको उपमहानगरले जनाएको छ । यद्यपि स्थानीयले अतिक्रमित जग्गामा निर्माण गरिएका भवन जोगाउनका लागि नक्सा परिवर्तन गरिएको बताएका छन् ।
अतिक्रमित जग्गामा निर्माण गरिएका भवन हटाउन छोडेर जोगाउन लागेको स्थानीयको भनाइ छ तर उपमहानगरपालिका इञ्जिनियर पवन योगीले यस्तो कार्यमा उपमहानगर नलागेको बताउनुभयो । कम्प्लेक्स निर्माण गर्दा वरपरका घरसँगै नगरपालिकाको भवनलाई समेत असर पार्ने भएपछि डिएमसी प्रविधि हटाएको बताउनुभयो ।
डिएमसी प्रविधिमार्फत् काम गर्दा भाइब्रेसन उत्पन्न गर्ने र मेसिन राख्नलाई समेत जग्गाको अभावसँगै काममा समेत असर पर्ने भएपछि नक्सा परिवर्तन गर्न परेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले जानकारी दिनुभयो । गएको कार्तिक महिनादेखि निर्माण कार्य शुरु गरेको हो ।
पुस २६ गते बसेको छैठौं कार्यपालिका बैठकले बहुउद्देश्यीय भवन कम्प्लेक्सको नक्सा परिवर्तन गर्ने निणर्य गरेको हो । कार्यपालिका बैठकले काम गर्दा ढुंगा निस्किएको, काम गर्ने स्थान साँघुरो हुने तथा भाइब्रेसन उत्पन्न हुँदा वरपरका घरमा गम्भीर समस्या हुने भएपछि नगर विकास कोष, उपमहानगरपालिका र नक्सा डिजाइन गर्ने कल्सन्टेन्सीको संयुक्त बैठकले माटोको पुनः परीक्षण गरेर नक्सा परिवर्तन गर्ने निणर्य गरेको थियो ।
सोही निणर्यअनुसार कम्प्लेक्सको तल्लो क्षेत्रको नक्सा परिवर्तन गरिएको इञ्जिनियर योगीले जानकारी दिनुभयो । इञ्जिनियर योगीका अनुसार कम्प्लेक्सको तल्लो क्षेत्रमा अब डिएमसी प्रविधिको सट्टा दुई फिट ढुंगाको सोलिङ र एक मिटर आरसीसी गरिनेछ ।
सोहीअनुसार नक्सा परिवर्तन भएको छ । उक्त प्रविधिले कम्प्लेक्सको संरचनालाई धान्ने इञ्जिनियर योगीले बताउनुभयो । कम्प्लेक्स लिफ्टसहित सात तलाको हुनेछ । तुलसीपुर उपमहानगरापालिकाले व्यापारिक प्रयोजनका लागि कम्प्लेक्स निर्माण गर्न थालेको हो । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको छ ।
कम्प्लेक्सको निर्माण कार्य तीन वर्षमा पूरा गर्ने सम्झौता भएको इन्जिनियर योगीले जानकारी दिनुभयो । कम्प्लेक्स निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाले २३ करोड रुपैयाँमा टेन्डर आह्वान गरे पनि समानान्तर/डायनामिक/नारायणम जेभीले साढे १४ करोडमा काम गर्ने गरी गएको चैतमा ठेक्का लिएको थियो ।
अरनिको डिजाइनर्स प्रालिले बहुउद्देश्य भवन कम्प्लेक्स निर्माणका लागि २७ करोड रुपैयाँ लगानी लाग्ने पूर्बानुमान गरेको थियो । कम्प्लेक्स निर्माणका लागि ७० प्रतिशत रकम नगर बिकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरका आफैले लगानी गर्ने गरी काम शुरु भएको छ ।
अन्डर ग्राउण्ड पार्किङसहित निर्माण गर्न लागिएको कम्प्लेक्सको निर्माण सम्झौता चैतमा भए पनि कार्तिक महिनादेखि काम शुरु भएको छ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कठ्ठा क्षेत्रफलमा कम्प्लेक्स निर्माण शुरु गरिएको छ । बहुउद्देश्यीय भवन कम्प्लेक्समा पार्किङदेखि बिभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल तथा रेष्टुरेन्टसमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।