
दाङ, ७ माघ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको अध्यक्षमा दिपक कुमार बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ । संगठनको शनिबार भएको तेस्रो जिल्ला अधिवेशनले बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा कामी राम्जा (केशब), सचिव खिमबहादुर डाँगी, सहसचिवमा प्रकाश भण्डारी र कोषाध्यक्षमा दिपक कुमार खड्का चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सुरेश नेपाली, उद्धव केसी, सालिकराम बिटालु, हुकुम शर्मा, भुपबहादुर केसी, घनश्याम शर्मा, कमल चन्द, लोकेन्द्र बहादुर बस्नेत चयन हुनुभएको छ ।
संगठनका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यतामा अधिवेशनको उदघाटन कार्यक्रम भएको हो ।
त्यस अवसरमा संगठनका अध्यक्ष राईले यातायात क्षेत्रमा कार्यरत मजदुरले अपमान हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले यात्रुलाई गन्तव्यमा पुर्याउने जिम्मेवार चालकप्रति समाजको दृष्टिकोण अझै पनि नफेरिएको बताउनुभयो । यातायात मजदुर पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरमा आफ्नोे कार्यकालमा नगरबस संचालन गर्ने बताउनुभयो । उहाँले नगरमा अझै पनि कतिपय सडक सुधारको अवस्थामा रहेको भन्दै उहाँले छिटै नगरबस संचालन गरिने बताउनुभयो ।
नेपाल राष्ट्रिय यातायात महासंघका केन्द्रिय सल्लाहकार सुरेश हमालले सार्वजनिक यातायातको सेवालाई नागरिकमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार र यातायात मजदुर बिचको संयोजनले मात्रै सार्वजनिक यातायातको सेवालाई नागरिकमैत्री बनाउनुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वली, नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेव खनाल, मानवअधिकर्मी शुसील बस्नेत, तुलसीपुर-१९ का अध्यक्ष प्रेमनाथ योगी, नेपाल अखिल मजदुर सघका जिल्ला अध्यक्ष छवि बस्नेत लगायतले मजदुरहरुकै कारण हामी गन्तव्यमा पुग्न सक्ने अवस्था भएको भन्दै मजदुरलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
जिल्ला उपाध्यक्ष केशब राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव यज्ञ बहादुर बुढाथोकीले गर्नुभएको हो ।