२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङ : बजेट अभावमा ५१ खानेपानीको आयोजना प्रभावित



दाङ, २१ माघ ।
दाङमा १८६ वटा खानेपानी आयोजनाको काम भइरहेको छ । गएका वर्ष सम्पन्न हुन बाँकी रहेका र चालु आर्थिक वर्षमा थपिएका नयाँ आयोजना गरी जम्मा २६६ आयोजनामा मध्ये अहिले १८६ वटा खानेपानी आयोजनाको काम सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका इन्जिनियर बेद प्रसाद आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा ९ वटा आयोजनाको भने अहिले सर्वेक्षण गर्ने काम भइरहेको इन्जिनियर आचार्यले बताउनुभयो । आचार्यकाअनुसार ५१ वटा आयोजनाको लागि भने ५० हजार भन्दा कम बजेट आएकाले काम सुरु गर्न नसकिएको हो । योजनाहरुको संख्या एकदमै धेरै तर बजेट एकदमै कम आएकाले पनि ५१ वटा आयोजनाको काम सुरु हुन नसकेको हो ।

प्रदेशको समानीकरण सर्शत अनुदान तर्फ १९० आयोजनाको परेका छन् । त्यस्तै जलवायु अनुकुलित बृहत्त् खानेपानी आयोजना मार्फत २४ वटा योजना परेका छन् । ती योजनाका लागि २ करोड ८२ लाख बजेट विनियोजन भएको छ । अहिलेसम्म यो शीर्षकमा १ करोड ३८ लाख १०४३ रुपैया खर्च भएको छ ।

तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तरगत ५१ योजनाका लागि ८ करोड ८५ लाख ७९ हजार बजेट विनियोजन भएकोमा हालसम्म ३ करोड ३९ लाख ५५ हजार ५२४ खर्च भएको उहाँको भनाई छ । सह-लगानी खानेपानी आयोजना तर्फ १ योजना लागि १ करोड १७ लाख बजेट बिनियोजन भएकोमा अहिलेसम्म ४३ लाख २ हजार ९०८ रुपैयाँ खर्च भएको छ ।

खानेपानी आयोजनाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा कुल ३८ करोड ३४ लाख १४ हजार ७५० रुपैयाँ बजेट आएको आचार्यले जानकारी दिए । गएको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा १५ करोड ७ लाख ८४ हजार २४६ अर्थात पुजिगत तर्फ ४० प्रतिशत रकम खर्च भएको छ ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार