तुलसीपुर,२८ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंग्लीस स्कुलले शानिवार (आज) १६ औं वार्षिकोत्सव मनाएको छ । विसं २०६३ सालमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गरेर १६ औँ वार्षिकोत्सव मनाएको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुुर उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम ढकालको प्रमुख अतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष ढकालले शैक्षिक सुधारमा नीजि विद्यालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुभयो । उहाँले सरकारले स्रोत साधनको व्यवस्था गर्दा पनि सरकारी विद्यालयको शैक्षिक सुधार हुन नसकिरहेको अवस्थामा नीजि विद्यालयले शिक्षाको क्षेत्रमा खेलेको भूमिका महत्वपूणर् रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले बालबालिकालाई किताबी शिक्षासंगै व्यवहारिक शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले अभिभावकले बालबालिकालाई घरमा व्यवहारिकरुपमा काममा लगाउँदा बालश्रम नहुने बताउनुभयो ।
एनप्याब्सन दाङका अध्यक्ष बिमल गौतमले अभिभावकले विद्यालयमा बालबालिका पठाएर मात्र जिम्मेवारी पुरा नहुने बताउनुभयो । उहाँले आफ्ना छाराछोरीको शैक्षिक अवस्थाको बारेमा जानकारी राख्न कम्तिमा महिनामा एक पटक भएपनि विद्यालयमा अभिभावक पुग्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षक पविता विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले प्रगति विद्यालयको कार्यपत्र प्रस्तुत गर्नुभएको हो । उहाँले विद्यालयले संस्कारसहितको शिक्षामा जोड दिँदै प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको बताउनुभयो । उहाँले आगामी दिनमा कक्षा १२ सम्म विद्यालय संचालन गर्ने उद्देश्यका साथ तत्कालै भौतिक संरचना थप्न लागेको बताउनुभयो ।
त्यस अवसरमा रेडियो हाम्रो पहुँचका विभागिय प्रमुख बसन्त पौडेलले विद्यालयले शिक्षासंगै बालबालिकाको अतिरिक्त क्रियाकलापमा जोड दिएको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी आरती खड्का, अभिभावक रूपा वली लगायतले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा विद्यालयले विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार र दुई जना अभिभावकलाई दोसल्लासहित सम्मान समेत गरेको छ । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले गर्नुभएको हो ।