दाङ, २८ माघ ।
लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री लिला गिरीको सिफारिसमा शनिबार प्रदेश प्रमुख अमिक सेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीको नियुक्ती तथा कार्यविभाजन गर्नुभएको हो ।
पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका छन् ।
कार्यविभाजन अनुसार नेकपा माओवादी केन्द्रका जोख बहादुर महराले आर्थिक मामिला मन्त्रालय, इन्द्रजित थारुले भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णा केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस्तै नेकपा एमालेका चेतनारायण आचार्यले खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालय, विष्णुप्रसाद पन्थीले स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, एमालेका तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएसंगै एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विना विभागीय मन्त्री बनेका थिए । विना विभागीय मन्त्री केसीले भौतिक पुर्वाधार मन्त्रालय मागेकी तर नपाएपछि शनिबार राजीनामा दिएको समाचार सार्वजनिक भएको थियो । तर उहाँलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ ।
सरकारलाई समर्थन गरेको जसपा तत्काल सरकारमा नगएपनि पछि आउन सक्ने र उसलाई एउटा मन्त्रालय दिने गरी हाल उक्त मन्त्रालय एमालेले राखेको छ ।
नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । मन्त्रीहरुको सपथ आइतबार (भोली) दिउसो १ बजे दाङमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री हुंदा १३ मन्त्रालय थिए ।