२०८२ बैशाख ९ गते मङ्गलवार

लुम्बिनीकी पूर्वराज्यमन्त्री वलीद्धारा माओवादी परित्याग



दाङ, १ फागुन
लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । उहाँले माघ २४ मा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष राजीनामा बुझाउनुभएको हो् ।

उहाँले लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गर्नुभएको छ । दाङ ३ (ख) बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उहाँले उपनिर्वाचनमा तत्कालीन नेकप वाट प्रदेशसभा सदस्यको टिकट पाएर विजयी हुनुभएको थियो । पछि सरकार निर्माणका क्रममा उहाँले माओवादी केन्द्रलाई साथ दिएर शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न भूमिका खेल्नुभएको थियो ।

पछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि उहाँ स्वास्थ्य राज्यमन्त्री बन्नुभएको थियो । राज्यमन्त्री नै हुँदा तुलसीपुरस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उहाँका श्रीमती र बालबालिकामाथि हातपात गरेको आरोप लागेको थियो । त्यसपछि उहाँलाई पार्टीले राज्यमन्त्रीबाट राजीनामा दिन लगाएको थियो । उहाँले राजीनामा पत्रमा सापटी लिएको पैसा फिर्ता माग्न जाँदा पार्टीले मन्त्रीबाट राजीनामा दिन लगाएको गुनासो गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार