दाङ, ३ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद र जडिबुटीको विज्ञता पुस्तान्तरण हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली समाजमा आयुर्वेदका विज्ञहरु परम्परागत रुपमै उपलब्ध रहेको बताउनुभयो ।
उहाँले नेपालका आदिवासी समुदायका नागरिकमा पनि जडिबुटीका अनेकौँ विषेशज्ञ रहेको बताउनभयो । उहाँले सभ्यताबाट सिर्जना भएको ज्ञानलाई अझ विकास गर्न आयुर्वेद शिक्षण भवनको ठुलो योगदान रहने बताउनुभयो । नेपाल संस्कृत विश्व विद्यालय अनेकौँ उपचार पद्धती र ज्ञानको खोजि तथा अनुसन्धानमा लागेको बताउँदै उहाँले आयुर्वेद संसारकै साझा सम्पति बनिसकेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालको परम्परागत संस्कृतिको इतिहास र मूल्य मान्यताको संरक्षणमा नेपाल संस्कृत विश्व विद्यालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुभयो । संस्कृत भाषा र साहित्यले मानिसभित्रको आन्तरिक क्षमतालाई विकसित तुल्याउन सहयोग गरेको उहाँको भनाई छ ।
राष्ट्रपति भण्डारीले संस्कृत भाषासंग आफ्नो व्यक्तिगत जीवनको पनि सम्बन्ध रहेको भन्दै स्व.जननेता मदन भण्डारी संस्कृत क्षेत्रकै उत्पादन भएको बताउनुभयो । उहाँले जननेता भण्डारीका सिर्जना उत्कृष्ट हुनु वाङमयको गहन अध्ययन रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले मदन भण्डारी दाङ धेरै पटक आएकोले पनि दाङका धेरै वस्तुको सामाजिक एवं प्राकृतिक विषेशताहरुको वर्णन गर्नुभएको बताउनुभयो ।
संस्कृत भाषामा प्र्राचिन र मध्यकालिन समाजका अधिकांश दुर्लभ ग्रन्थहरु लेखिएको राष्ट्रपति भण्डारीले बताउनुभयो । कार्यक्रममा नेपाल सरकार प्रबक्ता एवं सुचना तथा सञ्चार प्रबिधी मन्त्री रेखा शर्माले नेपाल सस्कृत बिश्वबिद्यालयलाई पूर्बीय दर्शनको अध्ययन केन्द्रका रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले पुर्बीय दर्शनको अध्ययनको आकर्षणको केन्द्र बनाउनमा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले आयुर्बेद शिक्षण अस्पताल सञ्चालन गर्नका लागि प्रदेश सरकार समन्वय गर्न तयार रहेको बताउनुभयो । कोरोना महामारीको समयमा आयुर्बेद शिक्षण अस्पतालका लागि निर्माण गरिएको भवनमा कोरोना अस्पताल सञ्चालन गरेको भन्दै स्वास्थ्य मन्त्री पन्थीले सहयोग र सञ्चालनका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।
नेपाल सस्कृत बिश्वबिद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो । २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएपनि आज उद्घाटन गरिएको हो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको हो ।
तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको थियो । महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ ।।