दाङ, ११ फागुन ।
दाङमा पहिलो पटक बिहिबारदेखि अन्तर्राष्ट्रिस्तरको कुस्ती प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आयोजना युथ्स अफ तुलसीपुरले गरेको हो । बिहिबारदेखि शुरु भएको अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा संचालन भइरहेको छ । प्रतियोगिता आठ दिनसम्म संचालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । ‘अन्तर्राष्ट्रिस्तरको कुस्ती खेल प्रतियोगिता दाङमा पहिलो पटक गरिएको हो ।’ उनले भने–‘प्रतियोगितामा शुरुको दिनमा पनि दर्शकको उल्लेख्य सहभागीता रहेको छ ।’
प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता १७ गतेसम्म संचालन हुने अध्यक्ष लहरेले बताए । ‘पहिलो पटक संचालन भएको प्रतियोगिता भएकोले पनि निकै चासो र उत्साहका साथ हेरिएको छ ।’ उनले भने–‘१७ गतेसम्म प्रतियोगिता संचालन गर्ने छौँ ।’ प्रतियोगितामा ३० जना भारतीय पुरुष खेलाडी, २ जना भारतीय महिला खेलाडी र ५ जना नेपाली पुरुष खेलाडी सहित गरि जम्मा ३७ जना खेलाडीको सहभागिता रहेको छ ।
नेपालमा कुस्ती खेलप्रतिको आर्कषण बढाउन दाङमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता बिहिबार औपचारिकरुपमा उद्घाटन गरिएको छ । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले कुस्ती खेलप्रतिको अभिरुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए । त्यस अवसरमा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालले दाङमै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुँदा कुस्तीका खेलाडीलाई हौसला थपिएको बताए । उनले आगामी दिनमा पनि कुस्ती प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए । दाङ जिल्ला खेलकुद विकास समितिका सन्तोष लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा भारतको उत्तरप्रदेशका अन्तर्राष्ट्रिय प्रशिक्षक चन्द्रराम तिवारीले कुस्ती प्रतियोगिताले कुस्ती खेल स्थापित हुन सहयोग पुग्ने बताए ।