२०८१ माघ १० गते बिहिवार

राष्ट्रपति पदका लागि कांग्रेसका पौडेल र एमालेका नेम्वाङको उमेदवारी दर्ता



 

काठमाडौं १३,फागुन । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसक्नु भएका पौडेल गत मंसिर ४ गते तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ । पौडेलको उम्मेदवारीलाई नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

त्यस्तै, पौडेलको प्रतिस्पर्धीमा नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो ।

नेम्वाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ । आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इलाम नगरपालिका –७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष हुनुहुन्छ । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम–२ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम–२ बाट लगातार निर्वाचित हुनुभएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्षरसभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख हुनुभएको थियो । विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो ।

राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय वरिष्ठ अधिवक्ता० रहनुभएका उहाँले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द पर्नुभएको थियो ।

यहि फागुन २५ हुने राष्ट्रपति पदको निर्वाचनमा पौडेल र नेम्वाङबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार