२०८० असोज ५ गते शुक्रवार

रुकुमपूर्वमा आज एकै दिन सोह्र हजार दाँते ओखर रोपिँदै



दाङ, १६फागुन ।
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एकै दिनमा सोह्र हजार दाँते ओखरका बिरुवा रोपिने भएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र प्रदेश सांसदहरूको उपस्थितिमा बिरुवा रोपिन लागेको हो ।

डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजनामा आज एकै दिन जिल्लाको विभिन्न ठाउँमा गरी सोह्र हजार दाँते ओखर रोपिँदै छ । प्रसस्त हाडे ओखर पाइने यस जिल्लामा पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय सरकार र डिभिजन वन कार्यालयले टर्कीका दाँते ओखर कृषकलाई निःशुल्क रूपमा बिरुवा वितरण गरिरहेको छ ।

यस वर्ष भर्खरै जुम्लाबाट ल्याइएको एक हजार सात सय ३५ दाँते ओखर लगाइसकिएको डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताउनुभयो । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती बिरुवा रोपिने भएको छ ।

यी वडाको ४० हेक्टर जमिनमा  आज एकै साथ १६ हजार बिरुवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ । एक हजार पाँच सय मिटरदेखि माथिको उचाइमा हुने टर्कीका फर्नर जातको दाँते ओखर आज जिल्लाका विभिन्न ठाउँमा लगाउन लागिएको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार