दाङ, ३० फागुन ।
तुलसीपुरको नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चामा दानदाताको सहभागीता बढ्दै गएको छ । जारी महापुराणमा सोमबारमात्रै तुलसीपुर–९ बेलुवा निवासी रुद्रसिंह खड्का र उहाँको श्रीमती बिमला खड्काले १४ लाख बराबरको जग्गादान गर्नुभएको छ ।
खड्का दम्पतिले स्वर्गिय हजुरबुवा झुपि खड्का र बुवा गृहलाल खड्काको सम्झनामा जग्गादान गर्नुभएको हो । आठ मिटर चौडाई र १८ मिटर लम्बाई क्षेत्रफल रहेको जग्गा खड्का दम्पतिले जग्गा सहयोग गर्नुभएको आर्थिक संयोजक शेर बहादुर घर्तीले जानकारी दिनुभयो ।
खड्का दम्पतिले यसअघि पनि टोलविकास संस्थाको भवन र मन्दीर बनाउन जग्गादान गर्नुभएको थियो । जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि जारी महापुराणमा १४ लाख बराबरको जग्गासहित नगद २ लाख ७० हजार बढी सहयोग प्राप्त भएको हो ।
अशक्त, असाहय, दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ आश्रमले श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ । कोही नभएका र केही नभएकाहरुलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आएको जय शिव महाकालले गरिब दुःखीहरुलाई बासस्थान बनाउनको लागि र उपचारमा पनि सहयोग होस् भन्ने उदेश्यका साथ श्रीमद् भागवत महापुरण सञ्चालन गरेको हो ।।