२०८१ असोज १९ गते शनिवार

ठेकेदारले विद्यालयमा तालाबन्दी गर्दा पढाइ ठप्प



सल्यान, ८ चैत ।
सल्यानको एउटा विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन ।

त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो । ८ कोठे र ४ कोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ ।

विद्यालयका सह प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको बताउनुभयो ।

उहाँका अनुसार ठेकेदारले ताला लगाएपछि भवन अभाव हुँदा दुइटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । त्यहाँ एसइईको परीक्षा केन्द्र पनि निर्धारण भएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी मीनराज खड्काले नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेको तर ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्नु परेको बताउनुभयो । विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ ।

उता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम जम्मा गरिसकेकाले ठेकेदारलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले अख्तियारले छानबिन गरिरहेकाले गाउँपालिकाका प्राविधिक गएर भवनको अन्तिम रिपोर्ट दिन नसक्ने बताउनुभयो । उहाँका अनुसार विद्यालयमा लागेको तालाबन्दी खोल्न सहजीकरणको पहल भइरहेको छ ।।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार