२०८१ असोज २१ गते सोमवार

मानव एकता दिवसमा सन्त निरंकारी मण्डल दाङको रक्तदान



दाङ, ९ बैशाख ।
सन्त निरंकारी मण्डल नेपाल सत्संग दाङ शाखाले शनिबार (आज) मानव एकता दिवस मनाएको छ । दिवसको अवसरमा दाङ शाखाले तुलसीपुरमा रक्तदान कार्यक्रम समेत गरेको हो । ‘स्वच्छ जल,स्वच्छ मन’ भन्ने नाराका साथ कार्यक्रम गरेको हो ।

रगत नालीमा नभई, नाडीमा बगाउनुपर्छ भन्ने उद्देश्यका साथ हरेक वर्ष मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने गरिएको दाङ शाखा प्रमुख शारदा जिसीले बताउनुभयो ।

सन्त निरंकारी मण्डल विश्वमै सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा परिचित छ । दाङ शाखाका प्रमुख जिसीको अध्यक्षता तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष सीताराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथी शर्माले सन्त निरंकारी मण्डलले समाजमा गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो । उहाँले संस्थाले आयोजना गरेको कार्यक्रममा पहिलोपटक रक्तदान गरेको बताउनुभयो ।

सन् १९८० मा अप्रिल २४ मा बाबा गुरु वचन सिंको भारतमा अकालि दलले हत्या गरेपछि उनका अनुयायीहरुले हत्या भन्दा पनि रगतदान गरेर मानवता देखाउनुपर्ने भन्दै हरेक वर्ष अप्रिल २४ तारिखका दिन मानव एकता दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा ३३ महिला १९ पुरूषगरि ५२ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रमको सहजीकरण राकेश डाँगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार