दाङ, १० बैशाख ।
बबई नदिको आसपासका वस्तीलाई सुरक्षित राख्न बबई नदीमा तटबन्ध गरिदै छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को पहल तथा युएसएआइडीको तयार नेपाल विपद् जोखिम व्यबस्थापन परियोजनाको आर्थिक सहयोगमा तुलसीपुर १२ कचिलामा बबई नदी किनारामा तटबन्ध निर्माणको काम सुरु भएको हो ।
बबई नदीमा तटबन्ध निर्माण भएसंगै कचिलाका करिब तीन सय घरधुरी सुरक्षित भएका हुने भएका छन् । कचिलामा वर्षाको समयमा सधै बाढीको समस्या हुने गरेको छ । तटबन्ध बन्न लागेपछि स्थानीय खुसी भएका छन् ।
गाँउको पुर्विभागमा ग्वार खोला दक्षिणमा बबई नदि भएकोले बर्खाको समयमा कचिलाका नागरिक जहिले त्रासमा बस्नुपर्ने बाध्यता रहेको छ । स्थानिय डिल्ली बहादुर थारुका अनुसार २०७४र७५ को बाढीले कचिलाका धेरै घरहरु डुबानमा परेको थियो । त्यतिबेला गाँउका सबै जना एकजुट भएकोले मानविय क्षति भने हुन पाएन । भौतिक रुपमा भने क्षति गरेको उहाले बताउनुभयो । त्यस समयमा कचिलाको धेरै जमिन पनि कटान भएको थियो ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बाँकी क्षेत्रमा तटबन्धन कार्यलाई अघि बढाउन संघीय सरकार अन्तर्गत रहेको जनताको तटबन्ध कार्यालयसँग माग गरिएको बताउनुभयो । उहाँले तटबन्धसँगै वस्ती जोगिनुका साथै तुलसीपुर क्षेत्रमा बबईको पानी लिफ्ट आयोजना सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो ।
उपप्रमुख स्यानी चौधरीले अगामि ४ वर्षमा भौतिक विकास मात्रै नभएर मानविय विकासमा पनि काम गर्ने बताउनुभयो । स्थानियले माग गरेको योजना पुरा गर्ने काम स्थानिय सरकारको भएको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाको बाढीबाट सबैभन्दा बढी जोखिम क्षेत्र वडा १२ को कचिला रहेको छ । तुलसीपुर उपमहानगरपालिका -१२ का वडाध्यक्ष खुसीराम चौधरीले ग्वारखोलादेखि शितलपुर बबई नदी पुलसम्म करिब दुई किलोमिटर क्षेत्रमा तटबन्धनको आवश्यकता रहेको बताउनुभयो ।
यो वर्ष भने सबैभन्दा जोखिमयुक्त क्षेत्रमा एक सय २० मिटरमा तटबन्धन गर्न सुरु गरिएको छ । वडाध्यक्ष चौधरीले पालिकाको नदीतटीय क्षेत्रको सबैभन्दा ठूलो घनाबस्ती रहेको कचिला गाउँलाई बाढीबाट बचाउन तटबन्ध अनिवार्य रहेको बताउनुभयो । उहाँले विगतमा वडा नम्बर १३ को फुलबारीक्षेत्र दक्षिणतर्फ मात्रै तटबन्ध गर्दा कचिलातर्फ नदीले बहाव परिवर्तन गरेका कारण बस्ती बढी जोखिममा परेको बताउनुभयो ।
वडाध्यक्ष चौधरीले तटबन्धबाट नदीले कटान गरेको खेतीयोग्य जमिन उकासेर त्यस क्षेत्रमा तरकारी पकेट क्षेत्र निर्धारणका साथै प्रत्येक हप्ता कृषिजन्य वस्तुको हाटबजार व्यवस्थापन गरिने बताउनुभयो । उहाँले तटबन्धबाट करिब चारसय बिघा खेतीयोग्य जमिन सुरक्षित रहने बताउनुभयो ।
युएसएआइडीको तयार नेपाल विपद् जोखिम व्यबस्थापन परियोजनाको आर्थिक सहयोगमा ५६ लाख १६ हजार ६३० रुपैया ९९ पैसामा काम भइरहेको छ । निर्माणको जिम्मा बिज्यश्वरी कन्ट्रशन सेवाले लिएको छ । तटबन्धको काम २०८० असार १६ गते सम्म सक्नुपर्ने छ ।
यसैबिच आज तुलसीपुर १२ कचिलामा एक कार्यक्रममा बिच बबई नदी तटबन्धको सिलन्यास गरीयको छ । नगर प्रमुख टिकाराम खड्काले तटबन्धको सिलन्यास गर्नुभएको हो । वडा अध्यक्ष चौधरीको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण वडा सचिव गणेश आचार्यले गर्नुभएको हो ।