दाङ, १ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक जना मन्त्रीको मात्रै जिम्मेवारी तोक्नु भएको छ । सँगै मन्त्री बनेका अन्य दुई जनाको जिम्मेवारी तोकिएको छैन । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्किलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेको अझै जिम्मेवारी तोकिएको छैन । गत बैशाख १५ मा गठन भएको मन्त्रिपरिषद्को कार्यविभाजन गरिएको हो । यस अघि १० वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई तोकिएको थियो ।
बजेट बनाउने बेलामा मन्त्रालय मन्त्री बिहिन भएपछी एक जना मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको, बाँकी मन्त्रीको जिम्मेवारी र विस्तार अब केही दिन भित्र गरिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो । हिजो मन्त्रीको जिम्मेवारी तोक्ने तयारी थियो ।
तर, माओवादी केन्द्रबाट अर्थमन्त्री को बन्ने विषयमा विवाद भएपछि जिम्मेवारी तोकिएको थिएन । आज बिहान बसेको मन्त्रपरिषद् बैठकले एक जना मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको हो ।।