दाङ, ४ जेठ ।
दाङको एक विद्यालयमा दुईजना प्रधानाध्यापक हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँमा दुईजना प्रधानाध्यापक हुँदा विद्यार्थीको पढाईदेखि शिक्षकको तलबमा समेत असर परेको छ ।
विद्यालयमा चन्दलाल जैसी र बाबुराम अधिकारी गरी दुईजना प्रधानाध्यापक छन् । दुई जनामध्ये जैशीलाई विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक बनाउन चाहेको र पालिकाले अधिकारीलाई प्रअ बनाउन खोजेपछि विवाद भएको हो ।
प्रअ नियुक्तिको विषयमा विवाद हुँदा एकातिर पढाई प्रभावित भएको छ भने अर्कोतर्फ शिक्षकहरुले लामो समयदेखि तलब पाउन सकेका थिएनन् । प्रअ नहुँदा तलब रोक्का हुँदा गतवर्षको माघ महिनादेखि तलब रोक्का भएको थियो ।
गतबर्षको माघ महिनादेखिको तलब नपाएको भन्दै आज शिक्षक तथा कर्मचारीहरुले गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण समेत गराएका छन् । ध्यानाकर्षण पश्चात शिक्षक तथा कर्मचारीहरुको रोकिएको तलब खाता सञ्चालनमा आएको छ । माग सम्बोधन नभएमा विद्यालयको पठनपाठन रोक्ने चेतावनी दिएपछि शिक्षक तथा कर्मचारीको तलब खाता ६ महिनापछि सञ्चालनमा आएको हो ।
शिक्षक तथा कर्मचारीको तलब फुकुवा भएपनि विद्यालयको खाता सञ्चालनमा नआएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लिलाधर वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेका दुई प्रअमध्ये अधिकारीले गत बैशाख २ गते राजीनामा दिएको र पुनःबैशाख ५ गतेदेखि पालिकाले आफ्नो शक्तिको आडमा पुनः अधिकारीलाई नै प्रअको रुपमा पठाउदा थप विवाद उत्पन्न भएको हो ।
यसैबिच विद्याथीहरुले समयमै पाठ्यपुस्तक पाउनुपर्ने, विद्यालमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विद्यालयमा राजनिती गर्न नहुने, विद्यालयको प्रअमा चन्दलाल जैसीलाई नियुक्त गर्नुपर्नेलगाएतका माग राखेर आज विहान ८ बजेदेखि विद्यालयमा तालाबन्दी गरेका छन् । यस विषयमा गाउँपालिकाको शिक्षा महाशाखाले वास्ता नगरेको उहाँको आरोप छ ।