२०८१ असार ४ गते मङ्गलवार

अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु



दाङ, १४ जेठ ।
अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८० बेल्झुण्डीमा सुरु भएको छ । जिल्ला फुटबल संघ दाङ र जिल्ला फुटबल रेफ्री संघ दाङको आयोजना तथा सन्जात ईन्टरप्राइजेजको मुख्य प्रायोजनमा आजदेखि बेल्झुण्डीमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटनका अवसरमा बोल्ने वक्ताले विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढ्नु उचित कुरो भएको बताएका छन् । खेलप्रति युवामा थप आकर्षण बढाउन सबै पक्षले ध्यान दिनु पर्ने बताएका हुन् ।

दाङ जिल्ला खेलकुद संघका अध्यक्ष संजात धितालको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा बोल्दै अध्यष धितालले बालबालिकालाई सानै उमेरदेखि बिभिन्न खालका खेलकुदमा प्रेरित गर्न सकेमा त्यसले भविष्यमा फाईदा पुग्ने बताउनुभयो । उहाँले खेलाडीलाई राज्यले पनि सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।

दाङ जिल्ला फुटबल रेफ्री संघका उपाध्यक्ष देब नारायण दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेकबहादुर बिक, गोरखा माबि तुलसीपुरका शिक्षक पुणर् बिक्रम डाँगी, एन प्याब्सन दाङका सचिव ठाकुर प्रसाद डाँगी, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुब आचार्यलगाएतकाले बोल्नुभएको हो ।

कार्यक्रमको सहजिकरण दाङ जिल्ला खेलकुद बिकास समिति महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको हो । आगामी २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका संस्थागत र सामुदायिक गरि ५२ वटा विद्यालयको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार