
दाङ,२३ जेठ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ले जेठ ११ गतेदेखि १७ गते निष्काशन गरेको एफपीओ जेठ २५ गते (बिहीबार) बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, नारायणचौर, नक्साल काठमाडौंमा बिहीबार बिहान एफपीओ बाँडफाँट हुने भएको हो ।
पछिल्लो तथ्यांक अनुसार लघुवित्तको एफपीओमा १४ लाख आवेदनबाट एक अर्ब ६३ करोड रुपैयाँ बराबरको १ करोड ६३ लाख कित्ता शेयरको लागि आवेदन परेको छ । यो लघुवित्तले कुल निष्काशन गरेको ३ लाख ७९ हजार ४२५ कित्ता शेयरको करिब ४३ गुणा बढी हो ।
लघुवित्तको एफपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ३७ हजार ९४२ जनाले मात्रै शेयर पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।