२०८१ माघ ४ गते शुक्रवार

दाङमा अधिकांश चर्चहरु दर्ता बिनै संचालनमा



दाङ, २५ जेठ ।
दाङमा अधिकांश चर्चहरु दर्ता बिना संचालनमा रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमारगाँउमा रहेको दमारगाउँ चर्च र दाङ इसाई समाज बाहेक अन्य चर्च दर्ता बिना सञ्चालन भएका हुन् ।

जिल्लामा करिब ३०० चर्चहरु छन् । केहिदिन अघि दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जिल्लाका विभिन्न पालिकाबाट विवरण प्राप्त भईसकेको भन्दै केहि दिनमै प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर अघि वढ्ने उल्लेख गर्नुभएको थियो ।

ईसाई समाज दाङका उपाध्यक्ष उदय स्वणर्कारले दाङ ईसाई समाज भनेर दर्ता भएकोले अब जिल्लाभरका चर्च तथा मण्डलीहरुलाई समाजमा आवद्ध गर्न समन्वय भईरहेको र निकट भविष्यमै त्यो काम सम्पन्न हुने बताउनुभयो ।

त्यस्तै ईसाई समाज लुम्बिनी प्रदेश उपाध्यक्ष मनोज बस्नेतले भने ईसाई समाज ईसाई धर्मावलम्बीहरुको छाता संस्था भएकाले चर्चहरु दर्ता गर्नैपर्ने भन्दापनि समाज मातहत ल्याउन पहल गर्ने बताउनुभयो ।

उहाँले धार्मिक स्वतन्त्रताको विषयमा प्रशासनले पनि आफुहरुलाई आवश्यक साथ दिनेमा आफु विश्वस्त रहेको बताउनुभयो । चर्चमा एउटै व्यक्ति पाष्टर र अध्यक्ष हुनुमा बाईबलमा उल्लेख भएअनुसार हालसम्म एउटै व्यक्ति पाष्टर र अध्यक्ष हुने गरेको बताउनुभयो ।

त्यसैगरि तुलसीपुर उपमहानगरपालिका ९ वेलुवामा रहेको पवित्र चर्च मण्डलीका पास्टर डिल्ली भण्डारीले केन्द्रको निणर्य अनुसार आफु अगाडी बढ्ने बताउनुभयो । उहाँका अनुसार केन्द्रबाट निर्देशन आएमा जिल्लाभरका पाष्टरहरुको संयुक्त बैठक बसेर सोही अनुरुप अगाडी बढ्ने बताउनुभयो ।

दमारगाँउ चर्चका पास्टर टोप बहादुर महताराले चर्च दर्ता गरेर सञ्चालन गर्दा सहज हुने बताउनुभयो । चर्चमा अध्यक्ष र पास्टर फरक व्यक्ती हुनुपर्ने हो तर अधिकांश चर्चहरुमा एकै व्यक्ती रहेको पाइएको उहाँले बताउनुभयो ।

महताराका अनुसार अध्यक्षले संस्था व्यवस्थापन, सम्पतिको सुरक्षा लगाएत व्यवस्थापकीय कार्य गर्ने व्यवस्था छ । पाष्टर चर्चको पुजारी हो जसले प्रवचन, विवाह,बच्चाहरुको वाल अर्पण, सेवासङ्गती लगाएतका कार्यहरु सञ्चालन सञ्चालन गर्ने गर्दछन् ।

दमारगाँउ चर्चका पाष्टर महताराका अनुसार संस्था दर्ता नगरी सञ्चालन गर्दा विश्वासीवाट उठेको भेटी सिमित व्यक्तीलाई मात्र जानकारी हुने हुँदा आर्र्थिक पार्दर्शितामा समस्या हुनेछ ।

‘हामी सबैलाई परमेश्वरले दिएको कुरा परमेश्वरलाई मात्र थाहा होस भन्ने विश्वास छ ।’ उनले भने९‘तर दर्ता नगरी सञ्चालन गर्दा संस्थाको सम्पतीको सुरक्षा,आर्थिक पार्दशितामा प्रश्न उठ्न सक्ने भएकाले समयमै यसबारे सोच्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी शुशिल वैद्यले चर्च दर्ता गर्न अनिवार्य नरहेको बताउनुभयो । उहाँले प्रशासनमा दर्ता भएमा नियम अनुसार सञ्चालन गर्न सकिने तर बिना दर्ता सञ्चालन भएमा सम्बन्धित संस्थाले जोखिम बहन गर्नुपर्ने बाध्यता हुने बताउनुभयो । बिना दर्ता सञ्चालन गर्दा कुनै चर्चमा केहि समस्या आएमा चर्च बन्द गर्ने अधिकार भने कानुनमा उल्लेख रहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार