दाङ, २८ जेठ ।
दाङका स्थानीय सरकारलाई राजस्व संकलन गर्न सकस परेको छ । जिल्लामा लक्ष्यअनुसार कमै पालिकाले राजस्व संकलन गरेका छन् । आर्थिक वर्ष सकिन अब एक महिनामात्र बाँकी छ । तर राजस्व संकलन भने निराशाजनक छ । आर्थिक वर्षको अन्त्यतिर आईपुग्दा पनि अधिकांश पालिकाहरूलाई राजस्व संकलनमा समस्या देखिएको हो ।
कुनै पालिका लक्ष्यको नजिक पुगेका छन् भने कुनैमा ५० प्रतिशत पनि संकलन भएको छैन् । तुलसीपुर उपमहानगरपालिकामा चालु वर्षको दश महिनामा आन्तरिक राजस्वतर्फ १२ करोड ६४ लाखमात्रै संकलन भएको छ । पालिकाले ४० करोडको लक्ष्य लिएको छ । आर्थिक वर्षको अन्त्यतिर आएकोले यो वर्ष लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्ने पालिकाले जनाएको छ ।
गतवर्ष पनि पालिकाले लक्ष्यअनुसार राजस्व संकल नगर्न सकेको थिएन । गतवर्ष भन्दा यो वर्ष राजस्व संकलन झनै खस्किएको छ । पालिकाले अहिले नदीजन्य पदार्थ, भूमिकर, मनोरञ्जन कर, घर नक्सा पास करलगायतको गरी १७ वटा शीर्षक कर संकलन गर्ने गरेको राजस्व शाखा प्रमुख ललित घर्तीले बताउनुभयो ।
घोराही उपमहानगर भने राजस्व संकलन लक्ष्य नजिक पुगेको छ । जेठ २१ गतेसम्म पालिकाले १६ करोड ९६ लाख ४१ हजार ८ सय ७३ रूपैयाँ २९ पैसा अर्थात् ९६ दशमलव ९३ प्रतिशत संकलन गरेको छ । पालिकाले २९ वटा शीर्षकमा कर संकलन गर्ने गरेको छ । सबैभन्दा धेरै सिफारिस दस्तुरबाट दुई करोड ६७ लाख, ८९ हजार १६८ रूपैयाँ संकलन भएको सूचना अधिकृत भिम बहादुर चौधरीले बताउनुभयो ।
गतवर्ष लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको दंगीशरण गाउँपालिकालाई यो वर्ष भने सकस भएको छ । गतवर्ष ८५ लाखको लक्ष्य रहेकोमा एक करोड ८९ लाख ७४ हजार चार सय ६ रूपैयाँ संकलन गरेको थियो । यसवर्ष लक्ष्यमा पुग्न सकस भएको छ । चालुवर्षमा एक करोड ३५ लाखको लक्ष्य रहेकोमा अहिलेसम्म ७१ लाख ७८ हजार १६८ रूपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख किरण पोखरेलले बताउनुभयो ।
गतवर्ष लक्ष्यको ७२ प्रतिशत राजस्व संकलन गरेको बंगालाचुलीमा यस वर्षमा ५० प्रतिशतमात्रै संकलन भएको छ । गतवर्ष दुई करोड ३२ लाख लक्ष्य रहेकोमा एक करोड ६८ लाख ६८ हजार २ सय १ रूपैयाँ राजस्व संकलन गरेको थियो । यस वर्ष भने एक करोड ५० लाखको लक्ष्य रहेकोमा ७५ लाख १३ हजार ६ सय ३३ रूपैयाँ संकलन गरेको छ । बंगलाचुली पहाडि क्षेत्रमा छ । त्यसमा पनि राजस्वको स्रोत कम भएको राजस्व शाखा प्रमुख महेन्द्र शर्माले बताउनुभयो ।
लमही नगरपालिकामा पनि चालुवर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकस भएको छ । गत आर्थिक वर्षमा ३२ करोड ८३ लाख ५० हजार लक्ष्य रहेकोमा नौ करोड ९१ लाख २५ हजार ६ सय ६८ रूपैयाँ ८२ पैसा संकलन भएको पालिकाले जनाएको छ ।
चालुवर्षमा भने गतवर्ष भन्दा कम राजस्व संकलन भएको छ । चालुवर्षमा ३३ करोड ८० लाख लक्ष्य रहेकोमा दश महिनाको अवधिमा चार करोड ८ लाख ९१ हजार चार सय ३८ रूपैयाँ २९ पैसा संकलन भएको सूचना अधिकारी नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।
पाँच करोड २२ हजार पाँच सय लक्ष्य लिएको गढवा गाउँपालिकाले हालसम्म दुई करोड ६४ लाख ३५ हजार ६ सय २१ रूपैयाँ मात्रै संकलन गरेको छ । गतवर्ष पनि गढवाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन । गतवर्ष पाँच करोड ५० लाखको लक्ष्य लिएको पालिकाले २ करोड ३ लाख ३८ हजार २८ रूपैयाँ ८५ पैसा संकलन गरेको राजस्व शाखा प्रमुख कुलराज कुमालले जानकारी दिनुभयो ।
चालुवर्षमा तीन करोड ५४ लाखको लक्ष्य रहेकोमा ९१ लख ७७ हजार चार सय ३२ रूपैयाँ संकलन भएको राजपुर राजस्व शाखा प्रमुख महेश शर्माले जानकारी दिनुभयो । गतवर्ष राजपुरमा ९४ लाख १६ हजार चार सय ९८ रूपैयाँ संकलन भएको थियो भने लक्ष्य एक करोड २० लाखको रहेको थियो । चालुवर्षको राजस्व संकलनको लक्ष्य चार करोड ६८ लाख रहेको शान्तिनगरमा हालसम्म २ करोड ६४ लाख राजस्व संकलन भएको छ । यो वर्ष पनि राजस्वअनुसारको संकलन हुन नसक्ने पालिकाले जनाएको छ ।
गतवर्ष पाँच करोड ८१ लाखको लक्ष्य संकलन रहेको शान्तिनगरमा ८ करोड २९ लाख ७० हजार संकलन भएको राजस्व सहायक प्रमुख पुष्पा शर्माले बताउनुभयो । बबई गाउँपालिकाका राजस्व शाखा प्रमुख विमला भण्डारीले यो वर्ष राजस्व संकलनमा सकस परेको बताउनुभयो ।
दुई करोडको लक्ष्य लिएको शान्तिनगरले हालसम्म ५९ लाख ७० हजार ६ सय ७६ रूपैयाँ संकलन गरेको भण्डारीले जानकारी दिनुभयो । गतवर्ष एक करोडको लक्ष्य लिएको शान्तिनगरले करिब ७५ लाख रूपैयाँ संकलन गरेको थियो । राप्ती गाउँपालिकाका सूचना अधिकृत बालचन्द्र गुरूङलाई बारम्बार सम्पर्क गर्दा पनि राजस्वबारे जानकारी पाउन भने सकिएन ।