दाङ, ७ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ नमूना नगरस्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा उपभोक्ताले तालाबन्दी गरेका छन् । आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताले हिजो तालाबन्दी गरिदिएका हुन् ।
संस्थाका सचिव दशरथ वलीले भने गलत कुरालाई राजनीतिक रूपमा उछाल्न खोजिएको तर्क गर्नु भएको छ । काम सकिएपछि पेश्की लगेकाहरूले रकम फिर्ता गर्ने उहाले बताउनुभयो ।
खनेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त शर्मा खरेल, सचिव वली र उपाध्यक्ष केशव सापकोटा नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको थियो । संस्थामा तालाबन्दी गरिएकोबारे तीन वटा वडाका वडाध्यक्षहरूलाई जानकारी दिइएको सचिव वलीले बताउनुभयो ।
आफ्नै संगठन र पार्टीप्रति आस्थावान भए पनि केही असन्तुष्ट पदाधिकारीका चलखेलका कारण यो सबै भइरहेको भन्दै सचिव वलीले त्यस्ता रोगका बारेमा पार्टीमा कुरा हुने बताउनुभयो ।
तर, सचिव वलीले भोलि नै राजनीतिक दलहरूको बैठक बोलाएर ताल्चा खोल्ने विश्वास दिलाउनु भएको छ । कांग्रेसबाटै निर्वाचित संस्थाका उपाध्यक्ष केशव सापकोटाले भने गलत कुरा भएको हुँदा उपभोक्ताले ताल्चा लगाउनु स्वाभाविक भएको बताउनुभयो ।
खाता सञ्चालन गर्ने अधिकार कार्यसमितिले सचिव र कोषाध्यक्षलाई प्रदान गरेको भन्दै उपाध्यक्ष सापकोटाले कुनै पनि आर्थिक निर्णय गर्दा कार्यसमितिमा कुरा ल्याई छलफलपछि मात्रै म्यान्डेट पाई चेक काट्नु पर्ने नियम विपरीत मनोमानी पेश्की दिने काम भएको बताउनुभयो ।
पेश्की दिँदा विधानको नियमविपरीत संस्थाको खातामा भएको पैसा कसैलाई पनि जानकारी नगराइ मनपरी गरेको पाइएको उपाध्यक्ष सापकोटोले बताउनुभयो । उहाका अनुसार कोषाध्यक्ष केशव वलीको नाममा दुई पटक गरी १५ लाख, सचिव दशरथ वलीको नाममा एक लाख र अध्यक्ष चन्द्रकान्तको नाममा ३० हजार रकम निकालेको देखिएको बताउनुभयो ।
अध्यक्ष चन्द्रकान्तको नाममा पाँच लाख ३० हजार गएको देखिए पनि पाँच लाख जम्मा गरिसकेको र अझै ३० हजार अध्यक्षको नाममा गएको देखिएको उपाध्यक्ष सापकोटोले दाबी गर्नुभयो ।
संस्थाको पैसा ब्याजको लोभमा व्यक्तिलाई पेश्की दिन नमिल्ने उपाध्यक्ष सापकोटाले बताउनुभयो । उहाले बाहिर आएको कुरा सत्य भएको पनि दाबी गर्नुभयो । कोषाध्यक्ष केशव वलीले भने तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनु भएको थियो ।
संस्थाको नेतृत्व चुन्न भएको निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मोर्चा बनेको थियो भने नेकपा एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपा लगाएको चुनावी गठबन्धन बनेको थियो ।
खानेपानीको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा भिडेर पराजित भएका भिमकान्त बस्याल (संगीत) ले संस्थाको नियमविपरीत कार्यसमिति भित्रका केही पदाधिकारीले मिलेमतोमा पेश्की लगेको हुँदा त्यसको विरोधका तालाबन्दी गरिएको जानकारी दिनुभयो ।
गत वर्ष साउन १ गते उनीहरूले पेश्की लगेको र एक वर्षदेखि २० लाख बढी रकम अपचलन गरेको स्पष्ट भएको हुँदा तालाबन्दी गर्नु परेको बताउनुभयो । यी सबै कुराको छानबिन होस् भन्ने उद्धेश्यले ताल्चा लगाएर निवेदन दिइएको उहाले बताउनुभयो ।।