२०८१ असोज १८ गते शुक्रवार

तुलसीपुरमा घरनक्सा पास गर्नेको संख्या बढ्न सकेन



दाङ, २१ असार ।
तुलसीपुर उपमहानगरपालिकामा घरनक्सा पास तथा अभिलेखिकरण गर्नेको संख्या अत्यन्त न्युन रहेको छ । पछिल्लो समय उपमहानगरले घरनक्सा पास तथा अभिलेखिकरण कार्यलाई कडाईका साथ लागु गर्न खोजेपनि उपमहानगरका थोरैले मात्रै नक्सा पास तथा अभिलेखिकरण भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको घरनक्सा पास शाखा प्रमुख तथा ईन्जिनियर श्रीनारायण चौधरीका अनुसार आर्थिक बर्ष २०७४ सालमा साबिकको तुलसीपुर नगरपालिका उपमहानगरमा स्तरोन्नती भएसँगै अभिलेखिकरण लागु भएको हो ।

उपमहानगरले साचेअनुरुप नागरिक नगरको करको दायरामा नआएपछि २०७९ बैशाख २८ गते उपमहानगरको कार्यपालिका बैठकले घरनक्सा पास तथा अभिलेखिकरणको कार्यलाई कडाईका साथ लागु गर्ने निणर्य गरेको हो । सोही निणर्य अनुसार २०८० साउन १ गतेदेखि लागु हुने भएको हो ।

आगामी आर्थिक वर्षबाट कडाईका साथ लागु गर्ने भन्दै असार मसान्तसम्म घरनक्सा तथा अभिलेखिकरणमा छुट दिने निणर्य गरेको हो । आगामी आर्थिक बर्ष अगाडी घरनक्सा पास तथा अभिलेखिकरण नगरेमा नगर तथा वडाबाट प्रबाह हुने कुनैपनि सेवा तथा सुबिधाबाट बञ्चित हुनुपर्ने उहाँले बताउनुभयो ।

उपमहानगरमा आर्थिक बर्ष २०५८/०५९ देखि आब २०७७/०७८ सम्म अफलाईन सेवा दिने भएका कारण उपमहानगरसँग एकमुष्ट तथ्याङ्क मात्र उपलब्ध रहेको छ । साढे सात हजार घरको मात्रै अभिलेखिकरण देखिएको छ । तर सो सम्बन्धि कार्यको वडागत विवरण भने नरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार उपमहानगरले २०७७ पुष महिनादेखि अनलाईनबाटै नक्सापास हुने ब्यबस्था गरेको हो । त्यस पश्चात हालसम्म वडा नम्बर ६ ले सबैभन्दा धेरै ३ सय २७ जनाले घरनक्सा पास तथा अभिलेखिकरण गरेको छन् भने वडा नम्बर १४ मा २ वटामात्र नक्सापास तथा अभिलेखिकरण भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

राष्ट्रिय जणगणना २०७८ अनुसार तुलसीपुर उपमहानगर भित्र ४६ हजार घरधुरी संख्या रहेको छ । जस अन्तर्गत उपमहानगरमा २०७७ पुष महिनादेखि हालसम्म वडा नम्बर १ मा ७ वटा घर नक्सापास तथा अभिलेखीकरण भएका छन् ।

त्यस्तै वडा नम्बर २ मा १५, वडा नम्बर ३ मा ९, वडा नम्बर ४ मा ४१, वडा नम्बर ५ मा ४४, वडा नम्बर ६ मा ३ सय २७ घर अभिलेखीकरण भएका छन् ।

त्यस्तै वडा नम्बर ७ मा १ सय ८४, वडा नम्बर ८ मा १ सय ४०, ९ मा १ सय २१, वडा नम्बर १० मा ३०, वडा नम्बर ११ मा २२, १२ मा ३७, वडा नम्बर १३ मा १२, वडा नम्बर १४ मा २, वडा नम्बर १५ मा संख्या ६ रहेको छ ।

त्यस्तै वडा नम्बर १६ मा ८, वडा नम्बर १७ मा ८६, वडा नम्बर १८ मा ७३ र वडा नम्बर १९ मा ५१ गरि २०७७ पुषदेखि हालसम्म १ हजार ६ सय ४६ घरनक्सा पास तथा अभिलेखिकरण भएका छन् ।

करको दर समेत वडा अनुसार फरक फरक
घरनक्सा पास तथा अभिलेखिकरण कार्यका लागि उपमहानगरले करको दर समेत वडा अनुसार फरक फरक तरिकाले निर्धारण गरेको छ ।

जस अन्तर्गत वडा नम्बर १,२, १०, ११, १६, १७ र १९ मा सटरसहितको घरलाई प्रति वर्गमिटर ९ रुपैया तथा आवासिय घरलाई ७ रुपैया प्रतिवर्गमिटर निर्धारण गरिएको छ ।

त्यस्तै वडा नम्बर ३, ४ र १३ नम्बर वडामा सटरसहितको घरलाई ७ रुपैया र सटर नभएको घरलाई ५ रुपैया प्रतिवर्गमिटर निर्धारण गरिएको छ । त्यस्तै वडा नम्बर ५, ६ र ९ मा सटरसहितको भवनलाई १३ र आवासिय घवनलाई ११ रुपैया प्रतिवर्गमिटर निर्धारण गरिएको छ ।

त्यस्तै वडा नम्बर ७, ८ र १२ मा सटरसहितको भवनलाई १२ र र आवासिय भवनलाई १० रुपैया प्रतिवर्गमिटर निर्धारण गरेको छ । त्यस्तै वडा नम्बर १४ र १५ मा सटरसहितको भवनलाई ८ र आवासिय भवनलाई ६ रुपैया प्रतिवर्गमिटर निर्धारण गरिएको छ भने वडा नम्बर १८ मा सटरसहितको घरलाई ११ र आवासिय भवनलाई ९ रुपैया प्रतिवर्गमिटर निर्धारण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको घरनक्सा पास शाखा प्रमुख तथा ईन्जिनियर चौधरीले भवनमा सटर प्राय व्यापारिक प्रयोजनका लागि निर्माण गरिने भएकाले केहि महङ्गो शुल्क निर्धारण गरिएको बताउनुभयो ।

उहाँका अनुसार आफुले भवन निर्माण गर्दा नक्सापास गरेमा नक्सापासको प्रमाणपत्रका आधारमा बैँकले ऋण लगानी सहजै गरिदिने, कुनै बिपद आईपरेमा उचित क्षतिपुर्ति प्राप्त गर्न सकिने, उपमहानगरको आम्दानीमा समेत बृद्धि हुनेलगाएतका सुबिधा लिन सकिने भएको हो ।

तर नक्सापास तथा अभिलेखिकरण नगरेमा उल्लेखित सुबिधाबाट बञ्चित हुनुपर्ने भएकाले घर निर्माण गर्दा सबैले अनिवार्य नक्सापास तथा अभिलेखिकरण गर्न उहाँले आग्रह गर्नुभयो । उपमहानगरभित्रका नागरिकलाई घरनक्सा पास तथा अभिलेखिकरण सम्बन्धिमा अझैपनि चेतनाको कमी देखिएकाले सोचेअनुरुपमा नगरवासीले घरनक्सा पास तथा अभिलेखिकरण गर्न नसकेको हुनसक्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार