
तुलसीपुर,३० साउन ।
साँझ परेपछि कोहि थाल बजाउन थाल्छन त कोही जर्किन । यो कुनै सडक नाटकको दृश्य भने होइन बास्तविक किसानको पिडा हो । बारीका मकै बदेँलबाट कसरी जोगाउने भन्ने चिन्ता छ, तुलसीपुर–७ तमाखे र आसपासका किसानलाई । मंगलबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका–७ तमाखेका किसान आफनो बारीमा रातभरी बँदेलले बिनाश गरेको मकैका खोइला देखाउदै भनिरहेका थिए–‘बँदेलले त लाज मान्दै मानेन हाम्रो परिश्रममा राज्यले लाज मान्नु पर्देन ?’
तमाखेका सीता भण्डारीको करिब नौ कठ्ठा बारीमा मकै छ । उहाँलाई गतवर्ष भन्दा यसपाली मकै राम्रो उत्पादन हुने आशा थियो । तर बारीमा बदेँलको आतंकले यसपाली पनि भनेजति उत्पादन नपाउने निराशा थपिएको छ ।
साँझ गोदाइला मकैका बोट हेरेर सुत्नुभएको उहाँ बिहान उठेर बारीमा जाँदा लमतन्न सुतेका मकैका डाँठमात्रै पाउनुहुन्छ । चिरहरण गरेर मिल्काइए जस्तो यत्रतत्र छरिएका मकैका घोगाँ देख्दा उहाँ निराश हुनुहुन्छ ।
भण्डारी परिवारसंगै खेतबारीको काममा आफै खटिनुहुन्छ । पछिल्लो समय मकैको बिउँ, मल तथा जोताई खर्चको लागत बढ्दै गइरहेको छ तर उत्पादन भने राम्रो भएपनि भित्र्याउन पाइने होकी होइन भन्ने चिन्ता बढ्दो छ । श्रीमान रोजगारीका लागी बिदेशमा हुनुहुन्छ ।
हरेक वर्ष मकै तयार हुनेबेला बँदेलले नोक्सान गर्दीन्छ । आफ्नै बारीमा उब्जनी गरेर किसान बाँच्न नपाउने सरकारको कस्तो निति हो ? उहाँले प्रश्न गर्नुभयो । नियन्त्रणका लागि सरकारसंग केही उपाय नभएकै हो त ? उहाँको आक्रोश छ ।
तमाखे र आसपासका क्षेत्रका किसानलाई बँदेलको पिडा नौलो भने होइन । विगत ४/५ वर्षदेखी बदेँलले यसैगरी मकैैबाली नष्ट गरेर हैरान बनाइरहेको छ ।
तमाखेकै श्रीराम टोलका किसान इन्द्रमणी पोखरेलले पाक्नै थालेको मकै बँदेलले खाइदिएपछि आफना बालबच्चा कसरी पाल्ने चिन्तामा हुनुहुन्छ । पोखरेलको करिव नौ कठ्ठा जग्गामा दुई दिनमा मकैबालीमा ठुलो क्षति गरेको छ ।
उहाँ पनि रातभरी जागाराम बसेर मकैको सुरक्षा गर्न नसकीने बताउनुहुन्छ । समस्या समाधानका लागि स्थानीय सरकारले जिल्ला बन कार्यालयसंग समन्वय जतिसक्यो चाँडो गदिदिनुपर्ने पोखरेलको माग छ ।
अर्का किसान पुष्पा वली मंगलवार राती बँदेलको बथान लखेट्न चार पटकसम्म बारीमा पुग्नुभयो तर बिहान उठ्दा ठुलो मात्रामा मकै बँदेलले खाइदिएछ।
राती आएको बँदेलको एक हुलले उहाँको आठ कठ्ठा मध्ये आधा बारीको मकै एक रातमै सकेछन्–चिन्तित मुद्रामा हुनुहुन्छ ।
मकै खेती भएको यो क्षेत्रबाट तलसीपुर–७ मा रहेका श्री गणेश सामुदायीक वन र गरौखाली सामुदायीक बन नजिकै पर्दछन । दुई वटा सामुदायिक बनक्षेत्रबाट आउने बन्यजन्तुले बालीनाली नष्ट गर्ने गरेको किसान बसन्ता पाखरेलले बताउनुभयो ।
उहाँको करिब नौ कठ्ठा बारीमा मकै खेती छ । समयमै समस्या समाधानमा सरकारले चासो नदिए बारीका सबै मकै बँदेलले सखाप पार्न सक्ने भन्दै चाँडो भन्दा चाँडो समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
किसान ढुन्डीराज पराजुली र यशोदा पौडेलको पिडा पनि उस्तै छ । ‘बँदेलले खाएको नल बस्तुभाउले खाँदैनन, हामीले खान घोगाँ हुदैन’– पराजुलीले भन्नुभयो–‘आफुलार्ई खाना र गाईभैँसीलाई दाना दुबैबाट बञ्चित भएको उहाँको दुखेसो छ ।
राप्ती शान्ती उद्यान(गणेशपुर पार्क)का अध्यक्ष डिल्लीराज भण्डारीले स्थानीय सरकार संग समन्वय गरी जिल्ला बन कार्यालयबाट सामुदायिक बन परिसरमा तारवारको व्यवस्थापन गर्न सके मात्रैपनि किसानका खेतीबाली जोगाउन सकिने बताउनुहुन्छ ।
पिडित किसानलाई राहत उपलब्ध गराउछौ :वडा अध्यक्ष जिसी
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले आफु यस बिषयमा गम्भिर रहेको बताउनुभयो । उहाँले आफ्ना वडाबासी पिडित हुनु भनेको वडा परिवार आफै पिडित भएको बताउनुभयो । उहाँले भन्नुभयो–“हामी यस बिषयमा गम्भिर छौ । वडाबासीको समस्या भनेको वडाको समस्या हो ।”
उहाँले वन्यजन्तुबाट हुने क्षति न्युनिकरणका लागि आफुले सम्बन्धित निकायसँग पहल गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले वन्यजन्तुले वालीमा क्षति पु¥याएका किसानलाई राहत वितरण गरिने बताउनुभयो । त्यसका लागि वन्यजन्तुबाट पिडित परिवारलाई यथासक्य चाडो वडामा सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“वडाले ति पिडितका लागि निरन्तर आवाज उठाईरहेको छ । बरु पिडित परिवारलाई क्षतिको विवरण लिएर मलाई भेट्दा क्षतिपुर्तिका लागि पहल गर्न सजिलो हुनेछ ।”
कार्यपालिका बैठकबाट समस्या समाधानको प्रयास गर्छो : प्रवक्ता वली
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले नागरिक वन्यजन्तुले बालीनाली सखाप गर्दा पिडित भएको संचारमाध्यमबाट सुनेपनि उपमहानगरसम्म कुनै गुनासो नआएको बताउनुभयो ।तर गुनासो नआएपनि आफु त्यसै मौन नबस्ने उल्लेख गर्नुभयो ।
उहाँले पिडितलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन प्रयत्न गर्ने बताउनुभयो । त्यस्तै उहाँले आगामी बस्ने कार्यपालिका बैठकमा यस बिषयमा कुरा उठाउने उल्लेख गर्नुभयो ।
‘मैले केहि कुरा त सुनेको छु । तर ७ नम्बर वडाबासीबाट त्यस्तो कुनै गुनासो उपमहानगरसम्म आएको छैन ।’ उहाँले भन्नुभयो–‘गुनासो आएन भन्दैमा हामी चुप लागेर बस्दैनौ, आागामी कार्यपालिका बैठकमा यो बिषय उठाएर समाधानको प्रयास हुनेछ ।’
वन कार्यालयसंग समन्वय गरेर अघि बढ्छौ : प्रजिअ बैद्य
दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले यस बिषय सुन्दा आफुसमेत गम्भिर भएको बताउनुभयो । उहाँले तत्काल यस बिषयमा जिल्ला वन कार्यालयका प्रमुखसँग समन्वय गरेर यथासक्य निकास निकाल्ने बताउनुभयो । “त्यस ठाउँमा यदि त्यस्तो समस्या रहेछ भने म जिल्ला बन अधिकृतसँग कुरा गरेर यथासक्य समाधानको लागि सहजिकरण गर्नेछु ।” उहाँले भन्नुभयो ।