दाङ, ३१ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले गैह्रकानुनी रुपमा संकलन गरेर राखिएका ढुङगा जफत गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले गत शुक्रबारदेखि अवैध रुपमा संकलन गरिएका ढुङ्गा जफत गर्न सुरु गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाले पहिलो चरणमा वडा नम्बर ४, १६, १७ र १९ मा अवैधरुपमा थुपारिएको ढुङगा जफत गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्राकृतिक स्रोत साधन अनुगमन समितिका संयोजक शंकर कुमार खड्काले बताउनुभयो ।
केहिदिन अघि मात्रै मानपुरे सिंचाई कुलोको बाँधमा रहेको जाली फोडेर ढुङगा उठाएको गुनासो तुलसीपुर उपमहानगरमा आएपछि ढुङगा जफत अभियान थालिएको हो । नगर प्रमुख टिकाराम खड्काको निर्देशनमा अवैध रुपमा संकलन गरिएका ढुंगा जफत थालिएको हो । बुधबार पनि वडा नम्बर १२ मा विभिन्न स्थानमा अभियान चलेको संयोजक खड्काले जानकारी दिनुभयो ।
खोला तथा कुलाका बाँध दोहोन गरेर ल्याइएका ढुङगा जफत गर्ने उपमहानगरको अभियान भएपनि घरायसी प्रयोजनका लागि राखिएका ढुंगा पनि उपमहानगरपालिकाले जफत गरेको नागरिकको गुनासो छ । आफ्नै जग्गाबाट उत्खनन् गरिएका ढुंगा पनि उपमहानगरपालिकाले जफत गरेको नागरिकले बताएका छन् । घर, गोठ, पर्खाल निर्माणका लागी संकलन गरिएको ढुङगा भए तत्काल सम्बन्धित वडामा सम्पर्क गर्न आग्रह गरिएको खड्काले बताउनुभयो ।
पालिकामा सूचना आएपछि मात्रै ढुङगा जफत गर्ने गरिएको खड्काले बताउनुभयो । पालिकाले मंगलबारसम्म एक सय ५० टिप ढुङगा जफत गरेको छ । जफत गरिएको ढुङगालाई वडा १७ को कार्यालय नजिकै, तुलसीपुर-७ को पर्सेनीमा रहेको खाली जग्गा र १२ नम्बरको पुकार पसलको पूर्वतिरको खाली जग्गामा राखिएको संयोजक खड्काले बताउनुभयो ।
जफत गरिएको ढुङगालाई सम्बन्धित व्यक्तिले सरकारी दररेट अनुसार राजस्व बुझाएमा फिर्ता गरिने उहाँले जानकारी दिनुभयो । बाटोमा राखिएको निर्माण सामाग्रीहरुलाई पनि व्यवस्थित तरीकाले राख्न स्थानीयलाई सचेत गराउने काम गरिएको छ । निर्देशनलाई वेवास्ता गरेमा कार्बाही गरिने उहाँले बताउनुभयो ।