काठमान्डौँ,१० भदौ।
माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (आइतबार) भदौ १० गते देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले पहिलो चरणमा जारी पूँजीको २ प्रतिशत अर्थात २ करोड ७२ लाख ७३ हजार रुपैयाँ बरारको २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।
कम्पनीले निष्काशन गरेको आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि भदौ २४ गतेसम्म लम्बिनेछ।
सो आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा कुमारी क्यापिटल लिमिटेड तथा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।